मनसुन विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनालाई प्रभावकारी बनाउन अन्तर–विषयगत बैठक सम्पन्न
भालुवाङ २ असार । लुम्बिनी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजनामा मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना २०८३ सम्बन्धी अन्तर–विषयगत क्षेत्र बैठक राप्ती उपत्यका (देउखुरी) मा सम्पन्न भएको छ।
मन्त्रालयका सचिव सुशिला अर्यालको अध्यक्षतामा भएको बैठकमा मनसुनजन्य विपद् तथा सम्भावित जोखिमको पूर्वानुमान गर्दै त्यसबाट हुन सक्ने जनधनको क्षति न्यूनीकरणका लागि सम्बन्धित निकायहरूबीच समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा छलफल गरिएको थियो। कार्यक्रममा विभिन्न मन्त्रालयका प्रतिनिधि, सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, सुरक्षा निकाय, स्वास्थ्य, खानेपानी, कृषि, शिक्षा, सञ्चार तथा विपद् व्यवस्थापनसँग सम्बन्धित सरोकारवालाहरूको सहभागिता रहेको थियो।
बैठकमा सहभागीहरूले बाढी, पहिरो, डुबान तथा अन्य प्राकृतिक विपद्का समयमा तत्काल उद्धार, राहत वितरण, सूचना आदान–प्रदान र आवश्यक स्रोत–साधन व्यवस्थापनलाई चुस्त बनाउन साझा योजना अनुसार अगाडि बढ्नुपर्नेमा जोड दिएका थिए।मन्त्रालयले मनसुनको समयमा हुन सक्ने सम्भावित विपद्को जोखिम न्यूनीकरण गर्न स्थानीय तह, सुरक्षा निकाय र विभिन्न क्षेत्रगत समूहबीच नियमित समन्वय, पूर्वतयारी र प्रतिकार्य प्रणालीलाई मजबुत बनाउँदै लैजाने बताएको छ।
बैठकमा जल तथा माैसम विज्ञान कार्यालय कोहलपुरका प्रमुख रामप्रसाद अवस्थी, पिपुल इन्निड प्रवेश गाैतमले सहजीकरण गर्नुभएको थियो भने बैठकको सञ्चालन विपद फोकल पर्सन भुपबहादुर मल्लले गरेका थिए ।
