भ्रष्टाचारमुक्त शासन प्रणाली स्थापित गर्न लागि परेका छाैं : मुख्यमन्त्री आचार्य
देउखुरी ११ पुस । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकार भ्रष्टाचारमुक्त शासन प्रणाली स्थापित गर्न लागि परेकाे बताएका छन् । गैरसरकारी संस्था महासंघ नेपाल लुम्बिनी प्रदेश समितिले दाङकाे लमहीमा बिहिवार आयाेजना गरेकाे प्रदेशस्तरीय नागरिक सम्मेलनकाे उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले यस्ताे बताएका हुन् ।
उनले सुशासन, पारदर्शिता कायम राख्न भ्रष्टाचारमुक्त शासन प्रणाली स्थापित गर्न प्रदेश सरकार लागि परेकाे बताएका हुन् । सुशासन कायम भए भ्रष्टाचार अन्त्य हुने बताउदै सुशासन प्रवर्द्धन र भ्रष्टाचार न्यूनिकरण गर्न पाँच बर्षे रणनीतिक याेजना कार्यान्वयनमा लगिएको बताए ।
`सरकारकाे नेतृत्व गरेकै दिन भ्रष्टाचार बिरुद्ध रणनीतिक याेजना निर्माण गर्ने निर्णयमा हस्ताक्षर गरे । अहिले त्याे याेजना तयार भएर कार्यान्वयनमा गएकाे छ´उनले भने-`सरकारले जागरिकमा बढ्दै गएकाे निरासालाई चिर्न सुशासन प्रबर्द्धन र भ्रष्टाचार बिरुद्धका अभियानलाई प्राथमिकता दिएकाे छ । नेतृत्वमा रहेकाहरुलाइ नै केन्द्रीत गरेर आचारसंहिता निर्माण गरेर लागू गरेका छाैं । लुम्बिनी प्रदेशमा मुख्यमन्त्री, मन्त्रीहरुलाई आचारसंहिताकाे निगरानी छ ।´
प्रदेश सरकारले गर्ने काम प्रति नागरिकहरु गुनासाे गर्न पाउने र त्यसकाे सुनुवाइ गर्ने संयन्त्रकाे विकास गरिएको भनाई उनकाे छ ।`गुनासा पेटिकामा प्राप्त सुझाव तथा समस्याहरू सम्बोधन गर्ने कार्यलाई निरन्तरता दिइरहेका छौं । यसले जनताको सरकारप्रतिको विश्वास बढ्नेछ´उनले भने-´जनप्रतिनिधि र कर्मचारीले गर्ने कामहरुलाइ पनि गुनासाे मार्फत अघि बढाउन सक्नुहुन्छ ।´
मुख्यमन्त्री आचार्यले प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरूलाई आचारसंहितामा बाँधिएको र खर्च कटौतीका लागि विशेष पहल गरिएको बताए । भ्रष्टाचार नियन्त्रण गर्न सबै सरोकारवालाहरूको सहयोग आवश्यक रहेको भनाइ उनकाे छ । `भ्रष्टाचार रोक्न सबै नागरिक, संघसंस्था र सरकारी निकायले एकैसाथ हातेमालो गर्नुपर्छ ।
यसले प्रदेशमा सुशासनको सुनिश्चितता गर्न सकिन्छ´उनले भने-`भ्रष्टाचार बिरुद्धकाे अभियानमा सबै संगसंगै अगाडि बढ्न जरुरी छ ।´ प्रदेश सरकारले जनमुखी कानून निर्माणलाई विशेष प्राथमिकता दिएको बताउँदै दलित सशक्तीकरण विधेयक, अपांगमैत्री कानून बनाउन आवश्यक विधेयक अघि बढाउने प्रतिबद्धता जनाए ।
गैरसरकारी संस्था महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष जितकुमारी बेल्वासेकाे अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यकाे प्रमुख आतिथ्यतामा नागरिक सम्मेलनकाे उद्घाटन गरिएको थियाे । सम्मेलनकाे तर्फबाट मुख्यमन्त्री आचार्यलाई घाेषणा-पत्र समेत हस्तान्तरण गर्दै कार्यान्वयन गर्न आग्रह गरिएको छ । मुख्यमन्त्री आचार्यले सम्मेलनले उठाएका सवालहरुलाइ सम्बाेधन गरिने बताएका थिए ।