राप्ती-२ कठाहामा चार महिने वित्तीय साक्षरता कक्षा सुरु
सिसहनियाँ ११ पुस । राप्ती गाउँपालिका वडा नम्बर २ कठाहामा मजदुर वर्गलाई लक्षित गरी चार महिने वित्तीय साक्षरता कक्षा सुरु गरिएको छ।
क्रियटिङ पोसिबिलिटिज (सिपी) नेपाल संस्थाको आयोजना र राप्ती गाउँपालिकाको समन्वयमा सञ्चालनमा आएको उक्त कक्षाको गत मंगलबार गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले शुभारम्भ गरे।
कार्यक्रममा अध्यक्ष विष्टले मजदुरहरूको जीवनस्तर उकास्न आधारभूत लेखपढ र व्यवहारिक ज्ञान प्रदान गर्न कक्षाले महत्त्वपूर्ण भूमिका खेल्ने बताए। “आफ्नो कमाइको सही व्यवस्थापन, बचत, लगानी र आर्थिक सुरक्षाको ज्ञानमार्फत श्रमिकहरूलाई आत्मनिर्भर र सशक्त बनाउने हाम्रो उद्देश्य हो,” उनले भने।
राप्ती गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर २ का अध्यक्ष पहलवान चौधरीले श्रमिक वर्गले लेखपढ र हिसाबकिताब नजान्दा भोग्नुपरेका समस्याबारे चर्चा गर्दै यस कक्षाले उनीहरूकाे दैनिक जीवनमा सहजता ल्याउने विश्वास व्यक्त गरे।उक्त कक्षा कठाहाको सामुदायिक भवनमा सञ्चालन हुने छ। ३० जना महिला तथा पुरुषहरूको सहभागिता रहेको यस साक्षरता कक्षाको शिक्षण जिम्मेवारी अस्मिता चौधरीले सम्हालेकी छिन्। साे अवसरमा कक्षामा सहभागीहरुलाई शैक्षिक सामाग्रीहरु समेत वितरण गरिएको थियोे ।

