गुरु पूर्णिमामा ज्योतिपुञ्जका विद्यार्थीहरुलाई बिरुवा उपहार



गुरु पूर्णिमामा ज्योतिपुञ्जका विद्यार्थीहरुलाई बिरुवा उपहार

दाङ १८ असार । डिभिजन वन कार्यालय दाङको सहयोगमा घोराहीमा रहेको ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालय र रामपुरमा रहेको ज्योतिपुञ्ज मोडेल इङ्लिस स्कुलमा अध्ययनरत विद्यार्थीहरुले आज बिरुवा रोपेका छन् ।

एक विद्यार्थी दुई बिरुवा रोप्ने र संरक्षण गर्ने विद्यालयको वार्षिक कार्यक्रम अनुसार विद्यालयले एक जना विद्यार्थीलाई कम्तिमा दुइ वटा बिरुवा प्रदान गरेको थियो । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष युवराज थपलियाको अध्यक्षता एवं घोराही उपमहानगरपालिका वडा नं १५ का अध्यक्ष रमेशकुमार पाण्डेयको प्रमुख आतिथ्यता र एकान्त टोल बिकास संस्थाका अध्यक्ष शंकर गौतमको विशिष्ट आतिथ्यमामा ज्योतिपुञ्ज विद्यालयका विद्यार्थीहरूलाई बिरुवा प्रदान गरिएको थियो । बिरुवा प्रदान गर्दै प्रमुख अतिथि वडा अध्यक्ष पाण्डेयले विद्यालयले वन र वातावरणप्रति सानैदेखि विद्यार्थीहरूलाई सचेतिकरण र सहभागी गराएकोमा खुसी व्यक्त गर्दै रोपिएका बिरुवा संरक्षणमा लाग्न विद्यार्थीहरूलाई आग्रह गरे।

विशिष्ट अतिथि एकान्त टोल विकास संस्थाका अध्यक्ष शंकर गौतमले टोलको गहनाका रुपमा रहेको विद्यालयले समाजमा उत्तरदायी ढंगले काम गरेकोमा शैक्षिक कार्यक्रमसँगै समाज उपयोगि कार्यमा निरन्तररूपले लाग्न आग्रह गरे । बिरुवा वितरण कार्यक्रमको सहजिकरण विद्यालयका प्रिन्सिपल बुद्धिराज अधिकारीले गरेका थिए । यसैबिच घोराही उपमहानगरपालिका वडा नं २ रामपुरमा रहेको ज्योतिपुञ्ज मोडेल इङ्लिस स्कुलमा पनि आज सोमवार विद्यार्थीहरुलाई विरुवा बितरण गरिएको छ । एक विद्यार्थी दुई बिरुवा रोप्ने र संरक्षण गर्ने कार्यक्रम अन्र्तगत विद्यालयमा अध्ययनरत करिव पाँच सय विद्यार्थीहरूलाई विरुवा बितरण गरिएको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गुरुप्रसाद खनालको सभापतित्व एवं घोराही उपमहानगरपालिका वडा नं २ का अध्यक्ष चित्रबहादुर चौधरीको प्रमुख आतिथ्यता र प्रगतिशील टोल विकास संस्थाका अध्यक्ष नारायणप्रसाद न्यौपानेको बिशिष्ट आतिथ्यतामा विद्यार्थीहरुलाई विरुवा बितरण गरिएको थियो । बिरुवा बितरण कार्यक्रममा बोल्दै वडा अध्यक्ष चौधरीले विद्यालयले थालेको विद्यार्थीहरूबाट विरुवा रोप्ने र संरक्षण गर्ने कार्यक्रमले विद्यार्थीहरूलाई सानैबाट वन तथा वातावरणको संरक्षण गर्ने तर्फ जानकार हुने बताए । बिरुवा वितरण कार्यक्रमको सहजिकरण विद्यालयका प्रिन्सिपल शिव भण्डारीले गरेका थिए।

डिभिजन वन कार्यालय दाङको “एक घर दुई वृक्ष,शहर हाम्रो बनाउ स्वच्छ” कार्यक्रम र विद्यालयको “एक विद्यार्थी दुई विरुवा,संरक्षण गरौं पानीको मूल र जरुवा” भन्ने कार्यक्रम अनुसार आज गुरु पूर्णिमाको अवसरमा सोमवार दुवै विद्यालयमा अध्ययनरत एक हजार पाँच सय बढी विद्यार्थीहरूलाई दुई वटाका दरले तीन हजार बढी विरुवा वितरण गरिएको हो । बितरण गरिएका विरुवा विद्यार्थीहरूले आफ्नो घर वरपर रोपेका छन् । कार्यक्रमका लागि डिभिजन वन कार्यालय दाङले धुपी, पारिजात, गुलमोहर, अमला, कपुर, दालचिनि, टिमुर, कल्की, राजवृक्ष, छतिवन लगायतका प्रजातिका तीन हजार बिरुवा विद्यालयलाई निःशुल्क उपलब्ध गराएको डिभिजन वन कार्यालय दाङका प्रमुख डिभिजनल वन अधिकृत मोहन प्रसाद श्रेष्ठले जानकारी दिए ।

बिरुवा लगाउने ठाउँ, क्षेत्रफल र विद्यार्थीहरूको चाहना अनुसार वितरण गरिएको ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालय घोराही दाङका “समाज र विद्यालय सँगसँगै” कार्यक्रमका संयोजक ध्रुबराज पौडेलले जानकारी दिए । विद्यार्थीहरुमा जल, जंगल र जमिनप्रति स्नेह राखी वातावरण संरक्षण र प्रवद्र्धनमा सचेतना ल्याउनका लागि ज्योतिपूञ्जमा अध्ययनरत विद्यार्थीलाई बिरुवा घरमै लगी अभिभाभवको सहयोगमा रोप्ने र संरक्षण गर्ने काम शुरु गरिएको ज्योतिपूञ्ज आवासीय माध्यमिक विद्यालयका प्रवन्ध निर्देशक बालचन्द्र शर्माले जानकारी दिए । विद्यालयको “समाज र विद्यालय सँगसँगै” कार्यक्रम अन्तर्गत यस वर्ष “एक विद्यार्थी दुई विरुवा,संरक्षण गरौं पानीको मूल र जरुवा” भन्ने मूल नाराका साथ विद्यार्थीहरूको प्रयोगात्मक परीक्षामा अंक उपलव्ध गराउने योजना सहित गत बर्ष देखि बृक्षारोपण कार्यक्रम शुरु गरिएको थियो । सोही कार्यक्रमको निरन्तरता स्वरुप यो बर्ष पनि दुवै विद्यालयमा बृक्षारोपण कार्यक्रम गरिएको प्रवन्ध निर्देशक शर्माको भनाई छ ।

रोपिएका बिरुवा संरक्षणका लागि विद्यालयले सवै विद्यार्थीका अभिभावकलाई पत्राचार गरी छोरा/छोरीले विरुवा रोप्नका लागि २ वटा खाडल खनेर तयारी अवस्थामा राख्न, खाडल खन्दा निस्केको माटोमा कम्पोष्ट मल राम्रो सँग मिश्रण गरी खाडलको आधा भागसम्म भर्न, आधा भरिएको खाडलमा विरुवाको जरालाई छोपेको माटो नझर्ने गरी पलाष्टिक÷छवाली सावधानीपूर्वक हटाएर सिधा पर्नेगरी रोप्न, रोपिएको विरुवाको जरालाई पहिले माटोले छोपेको भागभन्दा माथी माटो भर्नु हुँदैन भनेर सिकाउन, माटो भरीसकेपछी विरुवाको जराको भागमा पानी जम्ने खालको खाली ठाउँ हुनुहँुदैन भनी सिकाउन र रोपिएको बिरुवालाई पानी राख्न लगाई हरेक दिन बेलुका पानी नपरेको दिन पानी सिंचाई गरी संरक्षण गर्नका लागि पत्राचार गरिएको र अभिभावको सकारात्मक सहयोगबाटै बृक्षारोपणको काम शुरु गरिएको ज्योतिपूञ्ज आवासीय माध्यमिक विद्यालयका प्रिन्सिपल बुद्धिराज अधिकारीले जानकारी दिए।

बिगतका बर्षहरुदेखि नै आफूहरुले विद्यार्थीहरुको सहयोगमा हरेक बर्ष बृक्षारोपण कार्यक्रम गर्दै आएको र त्यसलाई थप ब्यवस्थित गर्नका लागि गत बर्ष देखि अभिभावकै प्रत्यक्ष निगरानीमा संरक्षण हुनेगरी बृक्षारोपण कार्यक्रम गरिएकोमा त्यसको अनुगमन गर्दा प्रभावकारी देखिएको ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालयका सहायक—प्रिन्सिपल पूर्णचन्द्र पाण्डेयको भनाई छ । विद्यार्थीहरुलाई वातावरण संरक्षण सचेतिकरणका लागि विद्यालयको योजनामा उल्लेखित “एक विद्यार्थी दुई विरुवा,संरक्षण गरौं पानीको मूल र जरुवा” भन्ने कार्यक्रम प्रभावकारी देखिएका कारण डिभिजन वन कार्यालय दाङको बार्षिक स्वीकृत कार्यक्रम अनुसार गत बर्षदेखि नै सहयोग गरिएको डिभिजन वन कार्यालय दाङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे