आशाका किरण संस्थाद्वारा प्रहरी निरीक्षक ऐरी सम्मानित, राप्तीको शान्ति सुरक्षामा महत्त्वपूर्ण भुमिका



आशाका किरण संस्थाद्वारा प्रहरी निरीक्षक ऐरी सम्मानित, राप्तीको शान्ति सुरक्षामा महत्त्वपूर्ण भुमिका

भालुवाङ ४ असार । दाङको राप्ती गाउँपालिकाको शान्ति सुरक्षा व्यवस्थापन, नागरिकसँगको सहकार्य तथा अपराध नियन्त्रणमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै इलाका प्रहरी कार्यालय भालुवाङका कार्यालय प्रमुख प्रहरी निरीक्षक पुष्करसिंह ऐरी सम्मानित भएका छन्।

प्रदेश प्रहरी कार्यालय भैरहवा रुपन्देहीमा सरुवा भएपछि राप्ती गाउँपालिका–१ भालुवाङमा रहेको आशाका किरण संस्थाले बिहीबार आफ्नै कार्यालयमा आयोजना गरेको “फेरि भेटौँला” कार्यक्रममा सहभागीहरूले प्रहरी निरीक्षक ऐरीको करिब एक वर्षे कार्यकाल प्रभावकारी र उपलब्धिमूलक रहेको बताएका छन्। सहभागीहरूले प्रहरी निरीक्षक ऐरी कार्यालय प्रमुखको जिम्मेवारी सम्हालेपछि प्रहरी र नागरिकबीचको सम्बन्ध अझ सुदृढ भएको, शान्ति सुरक्षा कायम गर्न, अपराध नियन्त्रण गर्न तथा विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गरेका थिए।

सोही अवसरमा संस्थाले प्रहरी निरीक्षक ऐरीको कार्यकुशलता, इमान्दारिता र समाजप्रतिको योगदानको कदर गर्दै सम्मानपत्र प्रदान गरी सम्मान गरेको थियो। संस्थाका अध्यक्ष दिवस आचार्य र संस्थापक अध्यक्ष सूर्यकिरण केसीले संयुक्त रूपमा सम्मानपत्र हस्तान्तरण गरेका थिए। संस्थाका अध्यक्ष दिवस आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रामजहदी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष डिल्ली सुवेदी, संस्थाका पदाधिकारी, सदस्य तथा शुभेच्छुकहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन संस्थाका महासचिव लोकमणी भुसालले गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे