शिवसवरी धाममा सञ्चालित मेला सकियो, नृत्य प्रतियोगितामा लिटिल एन्जल भालुवाङ प्रथम
सिसहनियाँ ७ फागुन । दाङ देउखुरीको राप्ती गाउँपालिका ५ पहरुवामा सञ्चालित महाशिरात्री धार्मिक मेला तथा साँस्कृतिक कार्यक्रम आइतवार सम्पन्न भएको छ । महाशिवरात्री पर्वका अवसरमा शिवसवरी धामले सञ्चालन गरेको ३ दिने मेला सकिएको हो । मेलामा साँस्कृतिक नृत्य समेत आयोजना गरिएको थियो ।
जस अनुसार लिटिल एन्जल स्कुल भालुवाङ प्रथम, सिरिन भ्याली मावि मौरीघाट दोस्रो, जागृती महिला समुह बड्का सिसहनियाँ तेस्रो, मावि मौरीघाट र मिलन महिला समुह लठ्ठहवाले सान्त्वना स्थान प्राप्त गरेका थिए । विजेताहरुलाई क्रमश नगद ७ हजार, ५ हजार ३ हजार र १÷१ हजार तथा प्रमाणपत्र प्रदान गरिएको थियो । साथै चर्चित गायक भुपु पाण्डे, गायक रोशन रत्गैया, शालिकराम चौधरी, सालिक रोका, सुष्मा सेर्पाइली, राजेन्द्र चौधरी, गौतम चौधरी, डान्सर तथा मोडेलहरु भुलन गुप्ता, दिपक बर्मा, सर्मिला पुन, ममता गिरी लगायत दर्जनौ कलाकारहरुले मञ्च तताएका थिए ।
कार्यक्रम संयोजक ओमप्रकाश गुप्ताको अध्यक्षता एवम् लुम्बिनी प्रदेशका भौतिक पुर्वधार विकास मन्त्री इन्द्रजित थारुको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट, ५ नम्बर वडा अध्यक्ष देवप्रसाद चौधरी लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । साँस्कृतिक संयोजक राजेन्द्र चौधरीको स्वागत मन्तव्य तथा सिर्जना थापाको स्वागत गीतबाट सुरु भएको कार्यक्रमको सञ्चालन प्रचारप्रसार संयोजक सन्तोषकुमार गुप्ता, अनुप बुढा र सिमा केसीले गरेका थिए ।