सुर्ती र मदिराजन्य पदार्थले जटिल प्रकारका रोगहरू बढ्दै : रोकथामका लागि सचेतना आवश्यक



सुर्ती र मदिराजन्य पदार्थले जटिल प्रकारका रोगहरू बढ्दै : रोकथामका लागि सचेतना आवश्यक

भालुवाङ १८ असार । मदिरा तथा सुर्तीजन्य पदार्थको बढ्दो प्रयोगका कारण मानव स्वास्थ्यमा गम्भीर असर परिरहेको भन्दै यसको नियन्त्रणका लागि प्रभावकारी सचेतना, कडा अनुगमन तथा स्थानीय तहको सक्रिय भूमिका बढाउन आवश्यक रहेकोमा सरोकारवालाहरूले जोड दिएका छन्।

राप्ती गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा बिहीबार गाउँपालिकाको सभाहल मसुरियामा आयोजित मदिरा तथा सुर्तीजन्य पदार्थ नियन्त्रण सम्बन्धी अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले मदिरा तथा सुर्तीजन्य पदार्थका कारण जटिल प्रकारका रोगहरू बढ्दै गएको उल्लेख गर्दै यसको रोकथामका लागि सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताएका थिए । राज्यले एकातर्फ स्वास्थ्यका लागि हानिकारक भन्दै मदिरा तथा सुर्तीजन्य पदार्थको सेवन नगर्न आग्रह गर्ने तर अर्कोतर्फ त्यसको उत्पादन, बिक्री तथा कर संकलनलाई प्राथमिकता दिने दोहोरो नीति अवलम्बन गरेको भन्दै सहभागीहरूले असन्तुष्टि व्यक्त गरेका थिए ।

उनीहरूले जनस्वास्थ्यलाई केन्द्रमा राखेर यस्ता पदार्थको उत्पादन, बिक्रीवितरण तथा प्रयोगलाई व्यवस्थित र नियमन गर्न आवश्यक रहेको धारणा राखे। अन्तरक्रियामा सहभागीहरूले विशेषगरी युवापुस्तामाझ मदिरा तथा सुर्तीजन्य पदार्थको प्रयोग बढ्दै गएको प्रति चिन्ता व्यक्त गर्दै विद्यालय, समुदाय तथा परिवारबाट निरन्तर सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने सुझाव दिएका थिए। उनीहरूले स्थानीय तहले कानुन बनाएर सार्वजनिक स्थल, शैक्षिक संस्था तथा स्वास्थ्य संस्थाको आसपास यस्ता पदार्थको बिक्रीवितरण नियन्त्रण गर्नुपर्ने आवश्यकता औंल्याए।

त्यस्तै उनीहरूले विद्यालय तहदेखि नै सुर्ती तथा मदिरा नियन्त्रणसम्बन्धी शिक्षा दिनुपर्ने, किशोरकिशोरी लक्षित अभियान सञ्चालन गर्नुपर्ने तथा स्वास्थ्य संस्थामार्फत नियमित परामर्श सेवा उपलब्ध गराउनुपर्ने सुझाव दिएका थिए। उनीहरूले यस्ता पदार्थको प्रयोग न्यूनीकरणका लागि स्थानीय सञ्चारमाध्यम, सामाजिक संघसंस्था तथा नागरिक समाजको सक्रिय सहभागिता आवश्यक रहेको धारणा राखे। मदिरा तथा सुर्तीजन्य पदार्थको प्रयोग न्यूनीकरणमा समुदायको भूमिका, परिवारको जिम्मेवारी, विद्यालयको योगदान तथा कानुनी कार्यान्वयनका विषयमा समेत छलफल गरिएको थियो। सहभागीहरूले नियन्त्रणका लागि केवल कानुन बनाउनु मात्र पर्याप्त नहुने भन्दै त्यसको प्रभावकारी अनुगमन तथा कार्यान्वयनमा जोड दिएका थिए।

कार्यक्रमका सरोकारवालाहरूले मदिरा तथा सुर्तीजन्य पदार्थको अवैध बिक्रीवितरण रोक्न नियमित बजार अनुगमन गर्नुपर्ने, सार्वजनिक स्थानमा धूम्रपान निषेध सम्बन्धी कानुन कडाइका साथ लागू गर्नुपर्ने तथा सचेतनामूलक कार्यक्रमलाई गाउँ–गाउँसम्म विस्तार गर्नुपर्ने सुझाव दिएका थिए। उनीहरूले स्वास्थ्यसम्बन्धी जोखिमबारे पर्याप्त जानकारी नपाउँदा धेरै नागरिक अझै पनि यस्ता पदार्थको प्रयोगतर्फ आकर्षित भइरहेको बताएका थिए।
कार्यक्रममा समुदाय, विद्यालय, अभिभावक, स्वास्थ्य संस्था तथा स्थानीय सरकारबीच समन्वय र सहकार्यको माध्यमबाट मात्र मदिरा तथा सुर्तीजन्य पदार्थको प्रयोग न्यूनीकरण गर्न सकिने बताएका थिए ।

स्वास्थ्य कार्यालय दाङका जनस्वास्थ्य निरीक्षक कुन्दन ठाकुरले मदिरा तथा सुर्तीजन्य पदार्थ मानव स्वास्थ्यका लागि सबैभन्दा ठूलो जोखिम मध्ये एक भएको बताए। उनले सुर्तीजन्य पदार्थको सेवनबाट क्यान्सर, मुटुरोग, फोक्सो सम्बन्धी रोग, उच्च रक्तचाप तथा अन्य दीर्घरोगहरू लाग्ने सम्भावना अत्यधिक रहने जानकारी दिए। उनका अनुसार विश्व स्वास्थ्य संगठनका तथ्यांकहरूले सुर्तीजन्य पदार्थका कारण विश्वभर हरेक केही सेकेन्डमा एक जनाको मृत्यु हुने अवस्था देखाएको छ। यस्तो भयावह अवस्थालाई न्यूनीकरण गर्न सरकारले बनाएका कानुनको प्रभावकारी कार्यान्वयनसँगै समुदायस्तरमा व्यापक जनचेतना फैलाउन आवश्यक रहेको उनले बताए।

जनस्वास्थ्य निरीक्षक ठाकुरले स्थानीय सरकारलाई संविधान तथा प्रचलित कानुनले जनस्वास्थ्य संरक्षणका लागि आवश्यक नीति तथा नियम बनाउने अधिकार प्रदान गरेको उल्लेख गर्दै मदिरा तथा सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि स्थानीय तहले आफ्नै कानुन निर्माण गरी कार्यान्वयन गर्न सक्ने बताए। उनले स्थानीय सरकारले जनप्रतिनिधि, स्वास्थ्यकर्मी, शिक्षक तथा नागरिक समाजसँग सहकार्य गरेर नियन्त्रणका कार्यक्रम सञ्चालन गरेमा सकारात्मक परिणाम प्राप्त गर्न सकिने धारणा व्यक्त गरे।

कार्यक्रममा उनले मदिरा तथा सुर्तीजन्य पदार्थको अत्यधिक प्रयोगले मानव शरीरका विभिन्न अंगमा पार्ने असरबारे विस्तृत जानकारी गराएका थिए। उनका अनुसार सुर्तीजन्य पदार्थको सेवनले मुख, घाँटी, फोक्सो, स्वरयन्त्र तथा पेटसम्बन्धी क्यान्सरको जोखिम बढाउने गर्दछ। त्यस्तै मदिराको अत्यधिक प्रयोगले कलेजो, मिर्गौला, मुटु तथा स्नायुसम्बन्धी विभिन्न रोग निम्त्याउने गर्दछ। यसका अतिरिक्त मानसिक स्वास्थ्यमा समेत नकारात्मक प्रभाव पर्ने भएकाले यसको प्रयोगलाई समयमै नियन्त्रण गर्न आवश्यक रहेको उनले बताए। ठाकुरले सुर्ती र मदिराको सेवनले व्यक्तिगत स्वास्थ्यमा मात्र नभई परिवार तथा समाजमा समेत नकारात्मक असर पार्ने उल्लेख गरे। यस्ता पदार्थको लतका कारण घरेलु हिंसा, सडक दुर्घटना, आर्थिक संकट, पारिवारिक विखण्डन तथा सामाजिक असुरक्षा बढ्ने गरेको उनले बताए।

विशेषगरी युवाहरूमा बढ्दो कुलतले भविष्यका लागि चुनौती सिर्जना गरिरहेको भन्दै अभिभावक, शिक्षक तथा समुदायले समयमै ध्यान दिनुपर्ने आवश्यकता औंल्याए। राप्ती गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नारायण राउतले सञ्चालन गरेको उक्त कार्यक्रममा स्वास्थ्य क्षेत्रसँग सम्बन्धित विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे