प्रदेश अनुगमन समितिद्वारा गुल्मीको धुर्कोट गाउँपालिका बालमैत्री स्थानीय शासनको अनुगमन सुरू
गुल्मी १९ असार । लुम्बिनी प्रदेशको गुल्मी जिल्ला स्थित धुर्कोट गाउँपालिकालाई बालमैत्री स्थानीय शासन घोषणा गर्न लुम्बिनी प्रदेश अनुगमन समितिले शुक्रबार देखि अनुगमन सुरू गरेको छ ।
प्रदेशस्तरीय अनुगमन समितिका सदस्य तथा सामाजिक विकास मन्त्रालयकी उपसचिव हरिकला सारु मगरको नेतृत्वमा गएको अनुगमन टोलीले गुल्मीको धुर्कोट-४ बर्बोटमा अवस्थित गाउँपालिकामै पुगेर अनुगमन सुरू गरेको हो । सो गाउँपालिका र अन्तर्गतका ७ वटा वडाहरुमा बालमैत्री स्थानीय शासन घोषणाका लागि ५१ वटा सूचकहरु पूरा भए नभएको, बालमैत्री स्थानीय शासन घोषणाका सन्दर्भमा उक्त गाउँपालिकामा पुगी कार्यविधिमा उल्लेखित आधार तथा मापदण्डहरूको अध्ययन तथा स्थलगत अनुगमन सुरू गरेको छ ।
शुक्रबार पहिलो दिन गाउँपालिकाका अध्यक्ष भुपाल पोख्रेल, उपाध्यक्ष सीता गिरी, प्रमुख प्रशासकीय अधिकृत रूद्र बहादुर पछाई, महिला शाखाकी सहायक महिला विकास निरिक्षक सुजाता गिरी, स्वास्थ्य शाखा प्रमुख प्रेमलाल खनाल, प्रशासन तथा राजश्व शाखाकी सहायक प्रशासकीय अधिकृत पवित्रा भुसाल लगायत मातहतका कर्मचारीहरूको उपस्थितिमा बालमैत्री स्थानीय शासनका ५१ वटा सुचकहरूको रूजु गर्ने तथा अध्ययन गर्ने काम गरिएको थियोे । त्यस्तै शनिबार सुचकका आधारमा फिल्ड अनुगमन गर्ने बताइएको छ ।
अनुगमन टोलीमा सामाजिक विकास मन्त्रालयकी उपसचिव हरिकला सारु मगर सँगै स्वास्थ्य मन्त्रालयका जनस्वास्थ्य अधिकृत विपना गाैतम, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका वरिष्ठ शाखा अधिकृत दुर्गाप्रसाद खत्री, प्रदेश योजना आयोगका शाखा अधिकृत हरिप्रसाद पन्थी, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश सदस्य ओमप्रकाश गुप्ता, पिस नेपालका बाल अधिकार संयोजक विजय कुमार अधिकारी र प्रदेश स्तरीय बाल सञ्जालका प्रतिनिधि प्रयास पाण्डे रहनु भएको छ ।
