दाङकाे लमहीमा बालिका करणीकाे आराेपमा एक युवक पक्राउ



दाङकाे लमहीमा बालिका करणीकाे आराेपमा एक युवक पक्राउ

देउखुरी १९ असार । दाङको लमहीमा १४ वर्षीया नाबालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका एक युवकलाई अदालतबाट म्याद थप गरी प्रहरीले अनुसन्धान अघि बढाएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार शान्तिनगर गाउँपालिका-३ भलटोलाका २६ वर्षीय प्रकाश काफ्लेलाई अदालतबाट म्याद थप अनुमति लिएर जबरजस्ती करणी सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ ।

प्रहरीका अनुसार असार ४ गते राति करिब ८ बजे लमही नगरपालिका-५ रातोडाँडास्थित आफ्नै डेरा कोठामा आरोपितले १४ वर्षीया नाबालिकालाई ललाईफकाई कोठाभित्र लगी इच्छाविपरीत जबरजस्ती करणी गरेको आरोप लागेको हो । घटनापछि आरोपितले नाबालिकालाई राजपुर गाउँपालिका-५, सालभौरी टोलमा छाडेर फरार भएको प्रहरीले जनाएको छ । घटनाको भोलिपल्ट पीडित पक्षबाट इलाका प्रहरी कार्यालय लमहीमा जाहेरी परेपछि तत्कालीन प्रहरी निरीक्षक रोशनराज पाण्डेयको कमाण्डमा खटिएको पाँच सदस्यीय टोलीले आरोपितलाई नियन्त्रणमा लिएको थियो ।

पक्राउ परेका आरोपित तथा पीडित दुवैलाई विस्तृत स्वास्थ्य परीक्षणका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराही पठाइएको थियो । पीडित नाबालिकाको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । घटनास्थल इलाका प्रहरी कार्यालय लमहीबाट करिब एक किलोमिटर पश्चिममा पर्ने जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । प्रहरीले घटनाका सम्बन्धमा थप प्रमाण संकलन तथा अनुसन्धान कार्य जारी रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे