भालुवाङमा फागुन १९ गते देखि पाँचौ राप्ती लुम्बिनी प्रादेशिक महोत्सव सञ्चालन हुने



भालुवाङमा फागुन १९ गते देखि पाँचौ राप्ती लुम्बिनी प्रादेशिक महोत्सव सञ्चालन हुने

भालुवाङ ७ फागुन । दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङमा पाँचौ राप्ती लुम्बिनी प्रादेशिक कृषि, व्यापारिक तथा पर्यटन महोत्सव २०७९ सञ्चालन हुने भएको छ । राप्ती उद्योग वाणिज्य संघ भालुवाङको आयोजनामा फागुन १९ गते देखी चैत १ गते सम्म भालुवाङ पुल्चोक स्थित निमार्णाधिन बसपार्कमा महोत्सव सञ्चालन हुन लागेको हो । उद्योग वाणिज्य संघले आइतवार भालुवाङमा पत्रकार सम्मेलनको आयोजना गरेर महोत्सव सञ्चालन गर्न लागेको जानकारी गराएको छ ।

“कृषि उद्योग, व्यापार तथा पर्यटनको शान, राप्ती कृषि पर्यटन महोत्सव २०७९ को अभियान” भन्ने मुल नाराका साथ महोत्सव सञ्चालन हुन लागेको संघका अध्यक्ष सुरज खड्काले जानकारी दिएका छन् । महोत्सवमा ५ लाख दर्शकले अवलोकन गर्ने र ९ करोड बराबरको कारोबार गर्ने लक्ष्य राखिएको छ । महोत्सवबाट भएको आम्दानीले उद्योग वाणिज्य संघको भवन निर्माण तथा फिल्ड मर्मत गर्ने र केहि रकम लालमटियामा रहेको दृष्टिविहिन छात्राबासको भवन निर्माणमा समेत सहयोग गर्ने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । महोत्सवमा स्थानीय स्तरमा उत्पादित कृषि, हस्तकला तथा पशुजन्य उत्पादनको प्रर्दशनी, विभिन्न जातजातिको झाँकी प्रर्दशन, बाल उद्यान, विभिन्न खालका प्रतियोगिताहरुको प्रतिस्पर्धा गराईने राप्तीको समग्र पर्यटन र प्रवद्र्धन विकासका लागि पनि राप्ती नदीमा –बोटिङ, मौतका कुवा, चरखे पिङ्ग, झुला, बालबाललिका लागि रमाईलो खेल लगायत अन्य थुप्रै आकर्षणका केन्द्रहरु रहने छन् ।

महोत्सव अवधीभर ख्याती प्राप्त केन्द्रिय, राष्ट्रिय तथा स्थानीय स्तरका कलाकारहरुको वेजोड प्रस्तुती रहने, महोत्सव अवधीभर खुल्ला नृत्य प्रतियोगिता देउखुरी आइडल समेत हुने संघका अध्यक्ष खड्काले जानकारी दिएका छन् । देउखुरी आइडलमा प्रथम हुनेलाई नगद २० हजार र २ वटा म्युजिक भिडियोमा खेलाइने छ भने दोसो हुनेलाई नगद १५ हजार र १ वटा म्युजिक भिडियोमा खेलाइने छ भने तेस्रो हुनेलाई १० हजार र चौथो हुनेलाई ५ हजार नगद पुरस्कारको व्यवस्था गरिएको छ ।

महोत्सवले यस क्षेत्रको समग्र शैक्षिक, आर्थिक, सामाजिक, साँस्कृतिक, कृषि, उर्जा एवम् पर्यटन लगायतका समग्र क्षेत्रको विकास गर्ने लक्ष्य लिइएको छ । त्यस्तै प्राकृतिक विविधताले भरिपूर्ण र थुप्रै संम्भावनाहरु बोकेको राप्तीको औद्योगिक, पर्यटकीय, कृषिजन्य, उर्जा एवम् विविध साँस्कृतिक तथा धार्मिक धरोहरहरुको समेत प्रबद्र्धन र प्रचार–प्रसार गर्नमा यस महोत्सवको औचित्य रहेको ठहर गरिएको छ ।
महोत्सव अवधीभर प्रवेश शुल्क प्रति व्यक्ति ७०, विद्यार्थीका लागि ५० रुपैयाँ, अपाङगता, जनआन्दोलनका घाइते, दृष्टिविहिन, जेष्ठ नागरिक तथा पत्रकारहरुलाई परिचयपत्रका आधारमा निशुल्क प्रवेशको व्यवस्था मिलाइएको भने ५ वर्ष भन्दा मुनिका बालबालिकाहरुको सन्दर्भमा शुल्क नलाग्ने बताइएको छ ।

त्यस्तै महोत्सवमा विभिन्न किसिमका स्टलहरुको दररेट समेत कायम गरिएको छ । त्यस्तै महोत्सवको पहिलो दिन निकालिने साँस्कृतिक झाँकीमा प्रथम हुनेलाई १० हजार, दोस्रो हुनेलाई ७ हजार, तेस्रो हुनेलाई ५ हजार र झाँकीमा सहभागी सवै समुहलाई सान्त्वना स्वरुप ३–३ हजार नगद र प्रमाणपत्र प्रदान गरिने संघका अध्यक्ष खड्काले जानकारी दिएका छन् ।

यसै बिच महोत्सवलाई भव्य तथा सभ्य बनाउन विभिन्न उपसमितिहरु समेत गठन गरिएको छ । जस अनुसार संघका अध्यक्ष सुरज खड्को संयोजकत्वमा मुल आयोजक समिति, जगत पोख्रेलको संयोजकत्वमा स्थानीय प्रशासन उपसमिति, बाबुराम थापाको संयोजकत्वमा मञ्च व्यवस्थापन उपसमिति, नारायणप्रसाद शर्माकोे संयोजकत्वमा प्रचारप्रसार उपसमिति, प्रेमबहादुर केसीको संयोजकत्वमा बाल साँस्कृतिक क्लव उपसमिति, कृष्णराज पौडेलको संयोजकत्वमा पाहुना स्वागत सत्कार उपसमिति, श्रीधर खत्रीको संयोजकत्वमा आर्थिक उपसमिति, भरतमणी न्यौपानेकोे संयोजकत्वमा अनुगमन उपसमिति तथा स्टल र कृषि व्यवस्थापन उपसमिति, गोविन्द केसीको संयोजकत्वमा साँस्कृतिक झाँकी उपसमिति, जीवराज शर्माको संयोजकत्वमा झाँकी मुल्याङकन उपसमिति, मोहन श्रेष्ठको संयोजकत्वमा यातायात उपसमिति र तपराज आचार्यको संयोजकत्वमा स्वास्थ्य उपसमिति लगायतका उपसमितिहरु गठन गरिएका छन् ।

संघका अध्यक्ष सुरज खड्काको अध्यक्षतामा भएको पत्रकार सम्मेलनको सहजीकरण संघका सचिव भरतमणी न्याैपानेले गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे