दाङमा कार्यसम्पादन मूल्याङ्कनमा राप्ती गाउँपालिका पहिलो



दाङमा कार्यसम्पादन मूल्याङ्कनमा राप्ती गाउँपालिका पहिलो

भालुवाङ ५ फागुन । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्य सम्पादन मूल्याङ्कन प्रतिवेदनका आधारमा दाङ जिल्लाका १० स्थानीय तह मध्ये राप्ती गाउँपालिका पहिलो भएको छ ।

आयाेगले १७ सूचकका आधारमा स्थानीय तहको कार्यसम्पादन मूल्यांकन गर्दा राप्ती गाउँपालिका सबै भन्दा उब्बल रहेको छ ।

राप्ती गाउँपालिकाले ६४.१७७५ अंक प्राप्त गरेर पहिलो भएको पालिकाका कार्य सम्पादन मूल्याङ्कन प्रतिवेदनका फोकल पर्सन तथा सूचना प्रविधि अधिकृत बाल चन्द्र गुरुङले जानकारी दिएका छन् ।

त्यस्तै बंगलाचुली गाउँपालिकाले ५९.१६ अंक सहित दोस्रो, तुलसीपुर उपमहानगरपालिकाले ५८.५४अंक सहित तेस्रो भएको छ । त्यस्तै दंगीशरण गाउँपालिकाले ५५.६२, शान्तिनगर गाउँपालिकाले ५३.७९, घोराही उपमहानगरपालिकाले ४९.२८ अंक प्राप्त गरेको छ । त्यस्तै लमही नगरपालिकाले ४९.१४, बबई गाउँपालिकाले ४५.८८, राजपुर गाउँपालिकाले ४५.०१ र गढवा गाउँपालिकाले ४०.४९ अंक प्राप्त गरेको छ ।

यही मूल्याङ्कनका आधारमा आयोगले आव २०८०/८१का लागि यस बाट स्थानीय तहमा प्रदान गर्ने समानीकरण अनुदानको रकम सिफारिस हुने जनाइएको छ । आयोगले कार्यसम्पादन सूचक मूल्याङ्कनबाट प्राप्त अंक र तथ्याङ्क सार्वजनिक गरेको हो । आयोगले सार्वजनिक गरेको सूचक अनुसार सघीय सञ्चित कोषबाट प्रदेश र स्थानीय तहलाई समानीकरण अनुदान सिफारिस गर्ने गरिन्छ ।

सम्बन्धित स्थानीय तह र निकायबाट प्राप्त तथ्याङ्कसमेतका आधारमा आयोगले कार्यसम्पादन मूल्याङ्कन गरेर अंक प्रदान गरेको हो । स्थानीय तहले गरेका विकास निर्माणका कामका साथै प्रशासन सञ्चालन तथा सुशासनजस्ता विभिन्न विषयको प्रभावकारिताका आधारमा उनीहरुलाई अंक दिने गरिन्छ । यस अघिको मुल्याङ्कनमा पनि पालिका जिल्लामा पहिलो रहको र  यो पटक पनि पहिलो नम्बरमै रहेको फाेकल पर्सन गुरुङले बताए ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले स्थानीय तहको हकमा समयमा बजेट पेस गरे/नगरेको, असार मसान्तभित्र बजेट पास गरे/नगरेको, राजस्व बाँडफाँट गरे–नगरेकोदेखि बजेट बेरुजु, विद्यार्थी भर्नाको अवस्था, गर्भवतीको संख्यालगायत १७ सूचकलाई मूल्यांकनको आधार बनाएको थियो । आर्थिक वर्ष २०८०/८१ का लागि वित्तीय समानीकरण अनुदान सिफारिस गर्न आयोगले यस्तो मूल्यांकन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे