भारतले महाकाली नदीमा बाँध निर्माणकाे काम तत्कालका लागि राेक्यो



दार्चुला २० मंसिर । दार्चुलाको महाकाली नदीमा भारतले निर्माण गरिरहेको तटबन्धकाे काम तत्कालका लागि रोकेको छ । स्थानीयवासीको निरन्तर आक्रोशपछि नदीको बहाव नेपालतिर धकेल्ने विवादित संरचना निर्माणकाे काम तत्कालका लागि रोकिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।

दुवै देशका अधिकारीको छलफलमा भारतीय पक्षले अहिलेलाई संरचना निर्माणकाे काम रोक्न तयार भएको जनाएको छ । भारतीय पक्षबाट पटक–पटक महाकालीको बहाव नेपालतर्फ धकेलेर खलङ्गा बजार बगाउन खोजिएको स्थानीयवासीको गुनासो छ । भारत पिथौरागढ प्रशासनका एडीएमसहितका प्रतिनिधि र दार्चुलाका प्रमुख जिल्ला अधिकारीले हिजाे सोमवार यसबारे छलफल गरेका थिए ।

छलफलमा दुई देशका प्रतिनिधि सम्मिलित संयन्त्र बनाएर मात्रै काम अघि बढाउने सहमति भएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए । उनले भने, ‘मौखिक सहमति भएको हो । विवाद रहेको क्षेत्रमा काम नगर्न भनेका छौँ । बाँकी क्षेत्रमा उनीहरूको काम जारी छ।’ थप यो बारेमा भोलि बुधवार दुवै देशका अधिकारीबीच बैठक बस्ने जानकारी प्रमुख जिल्ला अधिकारी उपाध्यायले दिएका छन् । तर मौखिकरूपमा जानकारी आए पनि लिखित जानकारी नआएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे