आचार्य र खनालले जन्मदिनको खुसी आश्रममा बाँडे, निलसागरलाई सरसफाइ सामग्री सहयोग
भालुवाङ १७ असार । जन्मदिनलाई केवल व्यक्तिगत उत्सवका रूपमा नभई सामाजिक सेवासँग जोड्ने उदाहरण प्रस्तुत गर्दै आशाका किरण संस्थाका सदस्यद्वय दीपेश आचार्य र गीता खनालले निलसागर सेवा आश्रमलाई सरसफाइ सामग्री सहयोग गरेका छन् ।
दाङको राप्ती गाउँपालिका–१ भालुवाङमा प्रधान कार्यालय रहेको आशाका किरण संस्थामार्फत गढवा गाउँपालिका–६ हसनापुर निवासी दीपेश आचार्यको २७औँ जन्मोत्सव तथा राप्ती गाउँपालिका–१ पाखापानी माइत भई हाल सर्लाहीको लालबन्दी निवासी गीता खनालको २५औँ जन्मोत्सवको अवसरमा राप्ती गाउँपालिका–८ कोहलुवास्थित निलसागर सेवा आश्रममा सरसफाइ सामग्री प्रदान गरिएको हो । आश्रममा आश्रित सडकपेटीबाट उद्धार गरिएका ज्येष्ठ नागरिक तथा अभिभावकहरूको स्वास्थ्य र सरसफाइमा सहयोग पुगोस् भन्ने उद्देश्यले साबुन, सर्फ, हारपिक, फिनाइल, ब्रस, कोलगेट, ब्लेडलगायतका सामग्री हस्तान्तरण गरिएको संस्थाले जनाएको छ ।
आचार्य र खनाल जिल्ला बाहिर रहेकाले उनीहरूले पठाएको रकमबाट आशाका किरण संस्थाका प्रेस संयोजक ओमप्रकाश गुप्ता र सचिव पवित्रा विश्वकर्माले आश्रममै पुगेर सामग्री हस्तान्तरण गरेका हुन् । हाल वैदेशिक रोजगारीमा रहेका आचार्य र गृहिणीका रूपमा बसोबास गर्दै आएकी खनालले आफ्नो जन्मदिनको अवसरमा सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आश्रमका आश्रितहरूको जीवनमा सानो भए पनि सकारात्मक योगदान पुर्याउने उद्देश्यले सहयोग गरेको बताइएको छ ।
जन्मदिनमा हुने अनावश्यक खर्च कटौती गरी मानव सेवामा योगदान गर्ने आचार्य र खनालको कार्य प्रति आश्रमले प्रशंसा गरेको छ ।
