गाडी, मोबाइल र मदिराको आयात प्रतिबन्ध फुकुवा



काठमाण्डाै २० मंसिर । सरकारले विदेशबाट विभिन्न वस्तुको आयातमा लगाएको प्रतिबन्ध हटाउने निर्णय गरेको  छ ।

मङ्गलवार बसेको मन्त्रिपरिषद्को बैठकले गाडी, मोटरसाइकल र मोबाइलसहितका वस्तुको आयातमा लगाएको प्रतिबन्ध हटाउन सैद्धान्तिक निर्णय गरेको युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले उज्यालोलाई जानकारी दिएका छन् । आजको बैठकले विदेशी मुद्राको सञ्चिति केही बढेको र आयात प्रतिबन्ध लम्बाउँदा भन्सार राजस्वमा कमी आएर सरकारी कोष समस्यामा पर्ने निष्कर्षसहित आयात खुला गर्ने निर्णय गरेको गहतराजले बताए ।

अब अर्थ मन्त्रालयको सहमतिसहित उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आयात खुलाउने प्रस्ताव पेस गर्ने र पारित भएर राजपत्रमा प्रकाशन भएपछि लागू हुने गहतराजकाे भनाइ छ । यो प्रक्रिया पूरा हुँदा पुस महिना सुरु हुनेछ ।

विदेशी मुद्रा सञ्चिति घटेपछि सरकारले गएको वैशाख देखि १० प्रकारका वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो । तीमध्ये भदौमा ६ प्रकारका वस्तुको आयात प्रतिबन्ध खुलाएको थियो भने ५० हजार डलरभन्दा महँगा निजी चार पाङ्ग्रे गाडी, १५० सीसीमाथिका मोटरसाइकल, तयारी रक्सी र तीन सय डलरभन्दा महँगा मोबाइल फोन आयात प्रतिबन्ध कायमै राखेको थियो । आयात प्रतिबन्ध हटाउन सरकारले मुख्यसचिवको संयोजकत्वमा समिति पनि गठन गरेको थियो । समितिले अझै पनि आयात प्रतिबन्ध लगाउँदा समस्या थपिँदै जाने भएकाले आयात खुला गर्नुपर्ने सुझाव दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे