समुदायस्तरमा फैलिन सक्ने महामारी जस्ता रोगबाट बच्न समयमै सुचना प्रवाह गर्नुपर्नेमा जोड



समुदायस्तरमा फैलिन सक्ने महामारी जस्ता रोगबाट बच्न समयमै सुचना प्रवाह गर्नुपर्नेमा जोड

भालुवाङ १७ असार । दाङको राप्ती गाउँपालिकामा समुदायमा आधारित रोग निगरानी सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

स्वास्थ्य शाखाको आयोजनामा बुधबार राप्ती गाउँपालिकाको कार्यालय मसुरियामा आयोजित जनप्रतिनिधि तथा सरोकारवालाहरूका लागि समुदायमा आधारित रोग निगरानी प्रणाली सम्बन्धी अभिमुखीकरण कार्यक्रम प्रदान गरिएको हो। कार्यक्रममा जनस्वास्थ्य निरिक्षक पोषणराज शर्माले समुदायमा देखिन सक्ने संक्रामक रोग, अप्रत्याशित जनस्वास्थ्य घटना तथा महामारीको समयमै पहिचान, सूचना संकलन र प्रतिकार्यका विषयमा सहभागीलाई जानकारी गराएका थिए । उनले रोग निगरानीको चक्र, निगरानी तथा प्रतिकार्यको अवधारणा, समुदायमा आधारित रोग निगरानी प्रणालीको कार्यप्रक्रिया, सूचना प्रवाहका विषयमा जानकारी गराए ।

समुदायस्तरमा देखिने सरुवा तथा नसर्ने रोगको पहिचान, असामान्य स्वास्थ्य समस्या, रोगका लक्षण तथा सम्भावित प्रकोपको प्रारम्भिक जानकारी संकलन गरी सम्बन्धित निकायमा समयमै सूचना पुर्‍याउनुपर्ने विषयमा जोड दिइएको थियो। समुदायमा आधारित रोग निगरानी प्रणालीका उद्देश्य, सरोकारवाला निकायहरूको भूमिका, स्वास्थ्य संस्थाको जिम्मेवारी तथा तीनै तहका सरकारबीच आवश्यक समन्वय र सहकार्यका विषयमा समेत छलफल भएको थियो। कार्यक्रममा कोभिड–१९, बर्ड फ्लु र मंकीपक्स जस्ता विश्वव्यापी महामारी फैलाउन सक्ने रोगहरूको उदाहरण प्रस्तुत गर्दै यस्ता रोग तथा जनस्वास्थ्य घटनाको समयमै पहिचान र सूचना प्रवाहले जोखिम न्यूनीकरण तथा नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्ने बताइएको थियो।

सहभागीहरूलाई समुदायमा देखिने अप्रत्याशित जनस्वास्थ्य घटनाहरूको तत्काल जानकारी गराई रोग नियन्त्रण, रोकथाम तथा व्यवस्थापनमा सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरिएको थियो। राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै अध्यक्ष विष्टले समुदाय स्तरमा पानीबाट फैलिने महामारी तथा अन्य विभिन्न किसिमका संक्रमण फैलिन नदिन समयमै सम्बन्धित निकाय कहाँ सुचना पुर्‍याउने पहिलो दायित्व सरोकारवालाहरूको हुने बताएका छन् । अध्यक्ष विष्टले समयमै सुचना दिन सक्ने हो भने समुदायमा हुने ठुलो जनधनको क्षतिबाट वचन सकिने बताए । अध्यक्ष विष्टले समुदायमा आधारित रोग निगरानी प्रणाली स्वास्थ्य क्षेत्रको महत्वपूर्ण आधार भएको बताए । उनले कुनै पनि महामारीजन्य वा प्रकोपजन्य रोगको नियन्त्रणका लागि समयमै सूचना प्राप्त हुनु सबैभन्दा महत्वपूर्ण पक्ष रहेको उल्लेख गर्दै समुदायबाट प्राप्त सूचनाले रोगको अवस्था पहिचान, विश्लेषण तथा व्यवस्थापनमा ठूलो सहयोग पुग्ने बताए ।

अध्यक्ष विष्टले पछिल्लो समय प्रविधिको विकाससँगै रोग निगरानी प्रणालीलाई थप प्रभावकारी बनाउन अनलाइन रिपोर्टिङ प्रणाली सञ्चालनमा ल्याइएको जानकारी दिए । उनका अनुसार समुदायबाट संकलित सूचना स्थानीय तह हुँदै प्रदेश र संघीय सरकारसम्म तत्काल पुग्ने भएकाले रोगको अवस्था बारे तीनै तहका सरकार समयमै जानकार हुनेछन्। यसले आवश्यक निर्णय लिन, स्रोतसाधन परिचालन गर्न तथा महामारी फैलिनुअघि नै रोकथाम र नियन्त्रणका उपाय अवलम्बन गर्न मद्दत पुग्ने उनको भनाइ थियो। उनले स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, जनप्रतिनिधि तथा समुदायबीचको समन्वय बलियो भएमा रोग निगरानी प्रणाली अझ प्रभावकारी बन्ने विश्वास व्यक्त गर्दै स्वास्थ्यसम्बन्धी कुनै पनि असामान्य घटना वा रोगका लक्षण देखिए तत्काल सम्बन्धित निकायलाई जानकारी गराउन आग्रह गरे।

कार्यक्रममा विषयवस्तुबारे जानकारी स्वास्थ्य शाखा प्रमुख नारायण रावतले गराउनु भएको थियोे भने कार्यक्रमको सहजीकरण जनस्वास्थ्य निरिक्षक पोषणराज शर्माले गरेका थिए । कार्यक्रममा जनप्रतिनिधिहरू, स्वास्थ्यकर्मीहरू र सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे