कपिलवस्तु जिल्ला अदालतका न्यायाधीश गिरीमाथि यौन शोषण गरेको आरोप



कपिलवस्तु २० मंसिर । कपिलवस्तु जिल्ला अदालतका न्यायाधीश भुवन गिरीविरुद्ध उनकी श्रीमतीले हिंसा र यौन शोषण गरेको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालयमा कारबाहीका लागि निवेदन दिएकी छिन् ।

श्रीमान् गिरीले पनि पैसा चोरेको आरोप लगाउँदै कारबाहीका लागि श्रीमतीविरुद्ध प्रहरीमा उजुरी दिएका छन् ।दुवै निवेदन लिएर प्रारम्भिक अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी मिनबहादुर घलेले बताए । मंसिर ४ पछि दुवै जनाले निवेदन दिए पनि मुद्दा दर्ता भने भइसकेको छैन । घटनाको नजिकबाट अनुसन्धान थालिएको उनले बताए ।

जिल्लामा प्रहरीले मुद्दा दर्ता गर्न नमानेपछि श्रीमती काठमाडौं गएर विभिन्न सञ्चारमाध्यममा अन्तर्वार्ता दिएपछि यो घटनाले बढी चर्चा पाएको हो । श्रीमान् गिरी पनि १५ दिनको बिदा लिएका बसेका छन् । जिल्लामा प्रहरीले उजुरी लिन नमानेपछि श्रीमती राष्ट्रिय मानव अधिकार अयोग र महिला आयोगमा पुगेर उजुरी दिएकी थिइन् । ‘न्यायाधीश गिरीले आफूलाई पटक–पटक गर्भ तुहाउन लगाएर मातृत्वको अधिकारबाट वञ्चित गराएको भन्ने पीडित महिलाको उजुरी छ,’ आयोगकी सदस्य लिली थापा भन्छिन्, ‘बन्धक बनाएर कुटपिट पनि गर्ने गरेको उनको लिखित उजुरीमा उल्लेख छ ।’

थापाका अनुसार उजुरीकर्ता महिला डराएको देखिएकाले उनलाई आयोगले विशेष संरक्षणमा राखेको छ । उनको उजुरीपछि आयोगले न्याय परिषद्लाई पत्र लेख्दै घटनाबारे अनुसन्धान अघि बढाउन भनेको थापाले बताइन् । यता जिल्ला प्रहरी कार्यालयमा दुवै आयोगले पत्र पठाउँदै चासो राखेका छन् ।जिल्लाका ४ नम्बर न्यायाधीश गिरीकी उनी कान्छी श्रीमती हुन् ।

गिरी पहिलो श्रीमतीसँग कानुनी रूपमै सम्बन्धविच्छेद गरी कान्छी श्रीमतीसँगै बस्दै आएका थिए । गत फागुनमा १८ जना जिल्ला न्यायाधीशका लागि २१२ जनाले परीक्षा दिएकामा गिरीसहित ३ जना मात्र उत्तीर्ण भएका थिए । गिरी तालिम लिएर ३ महिनाअघि मात्र जिल्लामा हाजिर भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे