लुम्बिनी प्रदेशको राजधानी दाङमा सार्नुको विकल्प छैन : अर्थमन्त्री खड्का



बुटवल २० मंसिर । लुम्बिनी प्रदेशका अर्थ तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले आफ्नो प्रदेशको राजधानी दाङको देउखुरी सार्नुको विकल्प नभएको बताएका छन् । शंकर पोखरेल नेतृत्वको अघिल्लो सरकारले राजधानी दाङमा सार्ने निर्णय गरेकाले वर्तमान सरकारले त्यसलाई कार्यान्वयन गर्नुको विकल्प नरहेको उनको भनाइ थियो ।

मङ्गलवार बुटवलमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री खड्काले मन्त्रालयको भवनहरू बन्ने काम चलिरहेकाले मन्त्रालयहरू क्रमशः त्याे ठाउँमा सार्दै जाने पनि बताए । तत्कालीन सरकारले गरेको निर्णय वर्तमान सरकारले कार्यान्वयन गर्नुपर्ने भएकाले दाङमा प्रदेशको राजधानी सार्ने कामलाई अघि बढाइएको उनले उल्लेख गरे । उनले भने, ‘सबै दलको सहमतिमा शंकर पोखरेल नेतृत्वको अघिल्लो सरकारले प्रदेशको राजधानी सार्ने निर्णय गरेको र त्यसलाई कार्यान्वयनमा लैजाने काम मात्रै वर्तमान सरकार हो । यसमा कसैले पनि आपत्ति जनाउनुपर्ने कारण छैन ।’

कार्यक्रममा बोल्दै नेकपा एमालेका प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठले छापामारा शैलीमा मन्त्रालयहरू दाङमा सार्ने कामको सुरुवात गरिएको भन्दै आपत्ति जनाए । उनले राजनीतिक दल र सरोकारवाला निकायसँग छलफलसमेत नगरि सेवाग्राहीलाई असर पर्ने गरि मन्त्रालयहरू दाङमा सार्ने काम गरिएको भन्दै तत्काल फिर्ता गर्न पनि प्रदेश सरकारसँग माग गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे