देउखुरीबाटै प्रदेशकाे सम्पूर्ण कार्य सञ्चालन गर्नुपर्ने राप्तीका निजामती कर्मचारीहरुकाे माग



देउखुरीबाटै प्रदेशकाे सम्पूर्ण कार्य सञ्चालन गर्नुपर्ने राप्तीका निजामती कर्मचारीहरुकाे माग

भालुवाङ १६ मंसिर । लुम्बिनी  प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका देउखुरीबाटै प्रदेशकाे सम्पूर्ण कार्य सञ्चालन गर्नुपर्ने राप्ती गाउँपालिकामा रहेका विभिन्न संघ संगठनका निजामती कर्मचारीहरुले माग राखेका छन् ।

नेपाल निजामती कर्मचारी संगठन राप्ती गाउँपालिकाका अध्यक्ष दामोदर पाख्रेल, नेपाल निजामति कर्मचारी युनियनका अध्यक्ष मंगल प्रसाद चाैधरी, नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामति) अध्यक्ष निम बहादुर रावतले शुक्रवार एक विज्ञप्ती जारी गरि यस्तो बताएका हुन् । साथै उनीहरुले कार्यालयकाे सेवा सञ्चालन गर्ने क्रममा कुनै पनि समस्या हुन नदिनका लागि वातावरण मिलाई सहयोग गर्न आफुहरु तयार रहेको बताएका छन्। प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका देउखुरीबाट प्रदेश सरकारले कार्य सञ्चालन गर्ने सन्दर्भमा स्थानीय तहमा कार्यरत सम्पूर्ण कर्मचारीहरु प्रदेश सरकारलाई सहयोग गर्न तत्पर रहेको समेत उनीहरुले बताएका छन् ।

त्यस्तै उनीहरुले लुम्बिनी प्रदेश सरकारका पदाधिकारी, लुम्बिनी प्रदेश सभाका सदस्यहरु तथा प्रदेश सरकार मातहत कार्यरत रही राप्ती उपत्यका देउखुरी दाङमा आई सेवा प्रवाहमा खटिने राष्ट्रसेवक कर्मचारीहरुको बसाईको लागि उपयुक्त आवास व्यवस्थापन, प्रदेश सभाका पदाधिकारी, सभाका सदस्य तथा राष्ट्रसेवक कर्मचारीका छोराछोरीको भर्ना तथा पठनपाठनका लागि यस उपत्यकाका क्याम्पस, विद्यालय, प्राविधिकधार सञ्चालन भएका शिक्षालयहरुसँग समन्वय गर्न, दैनिक उपभोग्य वस्तु तथा सेवाको सहज र सर्वसुलभताका लागि यस क्षेत्रका किसान, उद्योगी तथा व्यापारी, बुद्धिजीवि, समाजसेवी, सञ्चारकर्मी, स्थानीय तहका जनप्रतिनिधी, स्थानीय तहमा क्रियाशिल संघसंस्थासँग समन्वय, सहकार्य र सहजीकरण गरी चुस्तदुरुस्त रुपमा सेवा प्रवाह गर्ने वातावरण मिलाई सहयोग गर्न तयार रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

त्यस्तै उनीहरूले यस वर्षदेखि प्रदेश सरकारको कार्य सञ्चालन राप्ती उपत्यका देउखुरीबाट हुने प्रक्रिया सुरु भएको प्रति आभार प्रकट गर्दै स्थायी राजधानीमा प्रदेश सरकारका पदाधिकारी, प्रदेश सभाका माननीय सदस्यहरु, राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मीलाई सगौरब स्वागत गर्न आतुर रहेको उल्लेख गरेका छन्। त्यस्तै उनीहरूले प्रदेश सरकारको पहिलो कार्यकाल मुकाम बुटवलमा सञ्चालन भईरहेको प्रति आफुहरुकाे गम्भिर ध्यानाकर्षण भएको समेत जनाएका छन्।

साथै उनीहरूले प्रदेश सरकारबाट स्थायी राजधानी तोकेको राप्ती उपत्यका देउखुरीबाट कार्य सञ्चालन गर्दा कर्मचारी व्यवस्थापनमा कमी भई सेवा सञ्चालनमा समस्या पर्न गएमा स्थानीय तहमा कार्यरत आफुहरु अतिरिक्त सेवा गरी सेवा सञ्चालनमा सहयोग गर्न तयार रहेको समेत बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे