दाङमा ट्राफिक प्रहरीकाे एक्सन : ३५० सार्वजनिक सवारीबाट अवैध कालो स्टिकर हटाइयो



दाङमा ट्राफिक प्रहरीकाे एक्सन : ३५० सार्वजनिक सवारीबाट अवैध कालो स्टिकर हटाइयो

देउखुरी २० असार । नियम विपरीत गाडीमा लगाइएका कालो स्टिकर हटाउने अभियान दाङमा पनि सुरु भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जिल्लाभर यो अभियान सुरु गरेको हो । अभियान सुरु गरेकाे ३ दिनमा ३ सय ५० बढी गाडीका कालो स्टिकर हटाइएको ट्राफिक कार्यालयका प्रहरी निरीक्षक केशब खड्काले बताए ।

जिल्लाका विभिन्न स्थानमा ट्राफिकले चेकजाँचलाई तीव्र बनाएको खड्काले बताए । उनका अनुसार कालो स्टिकर प्रयोग गरिएका सवारी साधनलाई नियन्त्रणमा लिएर स्टिकर हटाउने काम गरिएको हो। अभियानमा मातहतका सबै ट्राफिक इकाइहरूले समेत कडाईका साथ सिसामा लगाईकाे कालाे स्टिकर हटाउने काम चलिरहेकाे बताईएकाे छ ।

 

सवारी साधनको सिसामा अत्यधिक कालो स्टिकर प्रयोग गर्दा चालकको दृश्य क्षमता प्रभावित हुने, सडक सुरक्षामा जोखिम बढ्ने तथा आपराधिक घटनाको अनुसन्धानमा समेत कठिनाइ हुने भएकाले यस्तो अभियान सञ्चालन गरिएको प्रहरी निरीक्षक खड्काले बताए ।

सवारी तथा यातायात व्यवस्था ऐनले सम्बन्धित निकायको स्वीकृति बिना सवारी साधनको स्वरूप परिवर्तन गर्न निषेध गरेको छ। सोही कानुनी प्रावधान अनुसार जडान गरिएका गैरकानुनी कालो स्टिकर हटाउने कार्यलाई प्राथमिकताका साथ अघि बढाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जनाएकाे छ । ट्राफिक प्रहरीले सवारीधनीलाई कानुनको पूर्ण पालना गर्न तथा नियमविपरीत कालो स्टिकर प्रयोग नगर्न आग्रह गरेको छ। यस्तो अनुगमन र कारबाही अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिइने प्रहरी निरीक्षक खड्काले बताए ।

यता दाङकाे भालुवाङका पनि कालाे स्टिकर हटाउने अभियानलाई कडाईका साथ अघि बढाईएकाे छ । नेपाल प्रहरी र ट्राफिक प्रहरीले संयुक्त रूपमा अभियानलाई अगाडि बढाएकाे हाे । सार्वजनिक सवारीसाधनमा लगाईएकाे कालाे स्टिकर हटाउन ईलाका प्रहरी कार्यालय भालुवाङका प्रमुख प्रहरी निरीक्षक गाेपाल न्याैपाने र अस्थाई ट्राफिक प्रहरी पाेष्ट भालुवाङका प्रमुख बरिष्ठ प्रहरी सहायक निरिक्षक प्रेमप्रसाद पाेख्रेल आफै सडकमा खटिएर कालाे स्टिकर हटाएका छन् ।

भालुवाङ ट्राफिक प्रहरीले पूर्व-पश्चिम राजमार्ग र भालुवाङ-प्यूठान-राेल्पा सडक खण्डका विभिन्न स्थानमा नियमित चेकजाँचका क्रम समेत सवारी साधनले लगाएका कालाे स्टिकर हटाउने कार्यलाई कडाईका साथ अगाडी बढाएकाे बरिष्ठ प्रहरी सहायक निरिक्षक प्रेमप्रसाद पाेख्रेलले बताए ।

अभियानकाे तीन दिनमा भालुवाङ ट्राफिक प्रहरीले २५ बढी सवारी साधनकाे कालाे स्टिकर हटाएकाे छ । ट्राफिक प्रहरीका अनुसार यस्तो अभियानले सवारी साधनलाई कानुनी मापदण्डअनुसार सञ्चालन गराउन, यात्रुको सुरक्षा सुनिश्चित गर्न तथा ट्राफिक नियमको प्रभावकारी कार्यान्वयनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे