दाङकाे राप्तीमा कपडा बैंक स्थापना, विपन्नलाई निःशुल्क सहयोग गर्ने अभियान सुरु
देउखुरी २० असार । दाङकाे राप्ती गाउँपालिकाले सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै क्लोथ एण्ड फुड बैंक नेपालको सहकार्यमा कपडा बैंक स्थापना गरेको छ । शनिबार आयोजित एक कार्यक्रम बीच गाउँपालिका अध्यक्ष प्रकाश बिष्टले रिबन काटेर कपडा बैंकको औपचारिक शुभारम्भ गरेका हुन् ।
अध्यक्ष बिष्टको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्लोथ एण्ड फुड बैंक नेपालका संस्थापक अध्यक्ष कमल जिसीले कपडा बैंकको उद्देश्य, सञ्चालन प्रक्रिया तथा सामाजिक महत्वबारे जानकारी गराउँदै घरमा प्रयोगमा नआएका तर प्रयोगयोग्य कपडा तथा सामग्री सङ्कलन गरी आवश्यक पर्ने विपन्न, असहाय तथा अभावमा रहेका नागरिकलाई निःशुल्क वितरण गरिने बताए ।

अध्यक्ष बिष्टले कपडा बैंकलाई दीगो र प्रभावकारी बनाउन स्थानीय सरकार, सामाजिक संघसंस्था, विद्यालय, निजी क्षेत्र तथा सम्पूर्ण नागरिकको सक्रिय सहकार्य आवश्यक रहेको उल्लेख गरे । उनले ‘आफ्नो घर, टोल र समाजलाई सफा राखौँ, कोही पनि कपडाविहीन नरहोस्’ भन्ने अभियानलाई सफल बनाउन सबैलाई कपडा तथा प्रयोगयोग्य सामग्री दान गर्न आग्रह गरे ।
राप्ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवीराम पाठकको समन्वयमा भएकाे कार्यक्रममा सिसहनिया उद्योग वाणिज्य सङ्घका पदाधिकारी, विभिन्न संस्थागत तथा सामुदायिक विद्यालयका शिक्षक–शिक्षिका, जनप्रतिनिधि तथा अन्य सरोकारवालाको उल्लेखनीय सहभागिता रहेको थियो।

कपडा बैंकमार्फत प्रयोगयोग्य सामग्री सङ्कलन गर्ने र आवश्यक परेकाहरूलाई निःशुल्क वितरण गर्ने व्यवस्था मिलाइने संस्थाका संस्थापक अध्यक्ष कमल जिसीले बताएका थिए । सामाजिक सेवामूलक यस अभियानले पुनःप्रयोगको संस्कृतिलाई प्रवर्द्धन गर्नुका साथै विपन्न समुदायलाई प्रत्यक्ष राहत पुग्ने विश्वास गरिएको छ । कार्यक्रमको सहजीकरण राप्ती गाउँपालिका जिन्सी शाखा प्रमुख रेशम अधिकारीले गरेेका थिए ।
