देउखुरीको मौरीघाटमा निर्माण हुने सरसफाई केन्द्रको स्थानीयबासीहरुद्धारा बिरोध



भालुवाङ ७ असोज । देउखुरीको राप्ती गाउँपालिका—४ मौरीघाट सुन्दरपुरमा निर्माण हुन थालेको अत्याधुनिक सुविधा सम्पन्न सरसरफाई केन्द्र निर्माण स्थलका बिषयमा स्थानीयबासीहरुले बिरोध गरेका छन् । उनीहरुले बस्ती र खोला नजिक सरसफाई केन्द्र राख्दा समुदायमा दुर्गन्ध फैलिने भन्दै बिरोध जनाएका हुन् ।

राप्ती गाउँपालिकाले मौरीघाट सुन्दरपुरको स्मृति घिमिरेको पाँच कट्ठा जग्गा गत भदौ १६ गते बार्षिक १५ हजारका दरले भाँडा बुझाउने गरी पाँच बर्षका लागि भाडामा लिई उक्त सरफाई केन्द्र निर्माणको काम शुरु गरे लगत्तै स्थानीयबासीले बिरोध गरेका हुन् । मानबबस्ती र खोला नजिक कुनैपनि हालतमा सरसफाई केन्द्र राख्न नदिने भन्दै उनीहरुले बिरोध जनाएका छन् । अहिले गाउँपालिकाले बनाउन लागेको सरसफाई केन्द्र कुनैपनि हालतमा उपयुक्त नभएको तथा सो सरसफाई केन्द्रले वडामा नै दुर्गन्ध फैलिदै निकट भबिष्यमा महामारी सम्म फैलिने भन्दै सरफाई केन्द्र राख्न नदिने उनीहरुले बताएका छन् ।

यसैबीच आज शुक्रबार राप्ती गाउँपालिका ४ नम्बर वडा स्तरिय सरसफाई केन्द्र निर्माण सम्बन्धी मावि मौरीघाटमा भएको बृहत्त छलफल सम्पन्न भएको छ । उक्त कार्यक्रममा सहभागी स्थानीयबासीहरुले कुनैपनि हालतमा सो स्थानमा सरसफाई केन्द्र बनाउन नदिने भन्दै बिरोध जनाएका छन् । ४ नम्बर वडा कार्यालयको आयोजनामा भएको छलफल कार्यक्रममा उनीहरुले त्यो ठाउँमा सरसफाई केन्द्र बनाउँदा वडाको जग्गाको भाउमा गिरावट आउनुका साथै केन्द्र नजिकका बासिन्दाहरु नै बिस्थापित हुनुपर्ने अवस्था हुन सक्ने समेत बताएका छन् ।

४ नम्बर वडा अध्यक्ष बिरबहादुर चौधरीको अध्यक्षता एवम् राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टको प्रमुख आतिथ्यता तथा राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापति चौधरीको बिशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा नेकपा एमालेका प्रदेश कमिटी सदस्य बुद्धिप्रकाश चौधरी, वडा नम्बर ४ का पूर्व वडा अध्यक्ष बिष्णुबहादुर घर्तीक्षेत्री, पूर्व वडा सदस्य पोमलाल गिरी, मौरीघाट बजार व्यवस्थापन समितीका अध्यक्ष बेगमबहादुर बस्नेत, स्थानीयबासीहरु मता केसी, नन्दुराम चौधरी र रामबहादुर केसी लगायतकाले त्यो ठाउँमा कुनैपनि हालतमा सरसफाई केन्द्र बनाउन नदिने अडान लिएका छन् ।

सो अवसरमा बोल्दै राप्ती गाउँपालिकाका अध्यक्ष बिष्टले त्यो ठाउँ सबै हिसाबले पाएक पर्ने, कम खर्चमा फोहर व्यवस्थापन गर्न सकिने, वातावरण र भौलिक हिसाबले समेत उपयुक्त रहेको भनेर वातावरण बिज्ञले समेत सुझाब दिएपछि मात्र यो ठाउँ खोजेको बताए । उनले यो सरसफाई केन्द्र ल्याण्डफिल साइड जस्तो नभई वालिन र घोराहीमा बनेको सरसफाई केन्द्र कै मोडेल रहेको बताए । उनले उक्त सरसफाई केन्द्र अत्याधुनिक प्रबृद्धिको प्रयोगबाट निर्माण गरिने हुँदा फोहरलाई प्रशोधन गरी गल्नेलाई मल बनाउने र नगल्नेलाई पुनः प्रयोगका लागि बिक्री गर्ने उदेश्यले मात्र यो सरसफाई केन्द्र बनाउन लागेको बताए ।

अध्यक्ष बिष्टले यदि यो सरसफाई केन्द्रले दुर्गन्ध फैलिएको खण्डमा तत्काल हटाउने र सरसफाई केन्द्र बनाएकै कारण कोही बिरामी समेत भयो भनेर हस्पिटलले प्रमाणित गरेको खण्डमा जस्तोसुकै सजाय भोग्न तयार रहेको समेत प्रतिबद्धता जनाए । उनले सरसफाई केन्द्र बनाएकै कारण उक्त वडाको जग्गाको भाउ घटेको खण्डमा मैले नै सम्पूर्ण क्षतिपुर्ति दिने प्रतिबद्धता गर्न चाहन्छु, आउनुस् वकिल राखेर कागज गरौँ म तपाईहरुको सबै सर्त स्वीकार गर्न तयार छु अध्यक्ष बिष्टले भने ।

म निर्वाचित भएको चार महिना मात्र भएको छ, कमसेकम काम त गर्न दिनुस् । काम नगर्दै बिरोध गर्नु राम्रो होइन उनले भने । कससेकम एक पटक हामीलाई विश्वास गरेर हेर्नुस् । हामी राम्रो काम गर्ने भनेरै आएका छौँ, नराम्रो गर्ने त कल्पना पनि नगर्नु्स् । यदि हामीले गलत गर्योँ भने फाँसी दिनुस् म फाँसीमा टङ्गिन तयार छु, अध्यक्ष बिष्टले भने । उनले हरेक विकासका काम बिरोध गर्ने हो भने यहाँको फोहर व्यवस्थापन कहिलै हुन नसक्ने र विकास तथा समृद्धिमा राप्ती गाउँपालिका पछि पर्ने बताए । उनले बोल्दै गर्दा पटक—पटक काम गर्न अवसर दिन र विश्वास गर्न आग्रह समेत गरेका थिए ।

त्यस्तै कार्यक्रममा राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापति चौधरीले यदि त्यहाँ सरसफाई केन्द्र बनाउन नदिने भए अन्त बिकल्प दिन आग्रह गरिन् । उनले ४ नम्बर वडा अध्यक्षले सरसफाई केन्द्र निर्माणमा वडा र टोलबासीको पुरै सहमति रहेको भनेपछि मात्र कार्यपालिका बैठकले निणर्य गरेको बताइन् । उनले जसरी सरसफाई केन्द्र निर्माणमा एमालेको बिरोध छ, भन्ने चर्चा गरिएको छ, त्यो एकदमै गलत हो । सरसफाई केन्द्र निर्माण गर्नुपर्छ भन्ने पार्टीको स्पष्ट दृष्टिकोण रहेको छ, र यस बिषयमा पार्टीले कुनै ह्वीप नलाएको समेत स्पष्ट पारिन् ।

सो अवसरमा सरसफाई केन्द्रका बिषयमा स्रोत व्यवस्थापन प्रालिका कार्यकारी निर्देशक कृष्ण भण्डारीले बिस्तृत रुपमा जानकारी दिएका थिए भने कार्यक्रमको सहर्जीकरण राप्ती गाउँपालिका—४ नम्बर वडा सदस्य बिष्णु पोख्रेलले गरेका थिए ।

यसैबीच सरसफाई केन्द्र निर्माणमा बिबाद देखिएपछि राप्ती प्रेस मञ्च सहितको टिमले उक्त निर्माणधिन सरसफाई केन्द्रको स्थलगत अवलोकन गरेको छ । मञ्चका अध्यक्ष अर्जुन अधिकारी, ४ नम्बर वडा अध्यक्ष बिरबहादुर चौधरी, वडा सदस्य बिष्णु पोख्रेल, मञ्चका बरिष्ठ उपाध्यक्ष तथा रेडियो राप्ती/राप्ती टेलिभिजनका निमित्त स्टेसन म्यानेजर सन्तोषकुमार गुप्ता र रेडियो राप्ती तथा राप्ती टेलिभिजनका अरुण पौडेल सहितको टोलीले उक्त निर्माणधिन सरसफाई केन्द्रको स्थलगत अवलोकन गरेको हो । प्रेस मञ्चको टोलीले उक्त ठाउँमा निर्माण हुने सरसफाई केन्द्रको बिषयमा बिस्तृत जानकारी समेत लिएका थियो । सो निर्माणधिन सरसफाई केन्द्र निर्माणका बिषयमा ४ नम्बर वडा अध्यक्ष बिरबहादुर चौधरीले बिस्तृत रुपमा जानकारी समेत गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे