एक वर्षको अवधिमा दाङमा २४१ बालकबालिका हराए



एक वर्षको अवधिमा दाङमा २४१ बालकबालिका हराए

 असोज २ दाङ / दाङमा गएको आर्थिक वर्ष २०७८/ ७९ मा ८३ बालक हराए । ती मध्ये ७३ बालक फेला परेका भने अन्य १० बालक अझै फेला परेका छैनन् । त्यस्तै सोही आवमा एक सय ५८ बालिका हराए भने एक सय ४१ फेला परे । तीमध्ये १६ बालिका अझै फेला पर्न सकेका छैनन् । त्यस्तै चालु आवको साउन र भदौको तेस्रो हप्तामा २० बालक हराए । ती मध्ये १५ फेला परे भने पाँच अझै पनि फेला पर्न सकेका छैनन् । त्यस्तै २५ बालिका हराएकामा १७ फेला परेका छन् भने आठ जना अझै फेला पर्न सकेका छैनन् ।

जिल्लामा गिरोह सक्रिय भएर बालबालिका ओसारपसार गर्ने गरेको घटना भने नभएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक राजन गौतमले बताए । कोही घरबाट भारत जाने भनेर उतै हराउने, कोही आफन्तका घरमा जाने भनेर सम्पर्कमा नआउनेजस्ता कारणले बालक हराउने गरेको उनको भनाइ थियो । एक ठाउँको हुलिया दिएर अर्कोतिर बस्ने कारणले पनि भेट्टाउन समस्या सहने गरेको उनले बताए । त्यस्तै बालिकामा पनि बिहे गरेर जाने र परिवारको सम्पर्कमा नआउने जस्ता कारणले पनि हराएको भनी उजुरी पर्ने गरेको प्रहरी नायब उपरीक्षक गौतमले बताए ।

हराएका मान्छे भेटिए पनि आफन्तले खबर नगर्दा पनि हराएकाहरू नभेटिएको तथ्याङ्कमा नआउने गरेको उनको भनाइ छ । जिल्लामा गत आवमा तीन सय ५३ महिला हराएका छन् भने तीन सय छ जना फेला परेका छन् । ४७ महिला अझै फेला पर्न सकेका छैनन् । त्यस्तै चालु आवको साउन र भदौमा ६० महिला हराएकामा ३५ जना भेटिएका छन् भने २५ जना अझै फेला पर्न सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे