एक महिना भित्र अपाङ्गता सम्बन्धी कार्यबिधी बनाउने राप्ती गाउँपालिकाद्धारा प्रतिबद्धता



एक महिना भित्र अपाङ्गता सम्बन्धी कार्यबिधी बनाउने राप्ती गाउँपालिकाद्धारा प्रतिबद्धता

भालुवाङ २२ भदौ । देउखुरीको राप्ती गाउँपालिकाले अबको एक महिना भित्र अपाङ्गता सम्बन्धी कार्यबिधी बनाई लागु गर्ने प्रतिबद्धता जनाएको छ । अपाङ्ग मानव अधिकार सरोकार मञ्च दाङले बुधबार राप्ती गाउँपालिकाको सभाहलमा आयोजिक पालिका स्तरिय अपाङ्गता समन्वय समिती संग समन्वय तथा अन्तरक्रिया कार्यक्रममा राप्ती गाउँपालिकाले अबको एक महिना भित्र अपाङ्गता सम्बन्धी कार्यबिधी बनाएर लागु गर्ने प्रतिबद्धता जनाएको हो ।

गाउँपालिकाकी उपाध्यक्ष तथा समन्वय समितीकी अध्यक्ष कमलापति चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष चौधरी र प्रमुख प्रशासकीय अधिकृत नेबबहादुर वलीले अबको एक महिना भित्र अपाङ्गता सम्बन्धी कार्यबिधी बनाएर लागु गर्ने प्रतिबद्धता जनाएका छन् । कार्यविधि नहुँदा अपाङ्गता सम्बन्धी बजेट कार्यान्वयनमा समस्या हुँदै आएको छ भने अपाङ्गता भएका नागरिकहरुले स्थानीयतहबाट पाउने सेवासुविधाबाट बञ्जित हुँदै आएका छन् ।

बैठकमा सहभागी अन्य बक्ताहरुले अपाङ्गता भएका क र ख वर्गले राज्यबाट सेवा सुविधा पाए पनि ग र घ ले भने नपाउँदा राज्यले नै विभेद गरेको गुनोसा ब्यापक रहेको बताएका थिए । उनीहरुले अपाङ्गता भएका ग र घ वर्गलाई स्थानीय सरकारले नगद रकम नदिए पनि ती वर्गका अपाङ्ग भएकाहरुलाई रोजगार र सिप संग जोड्न सुझाब दिएका थिए ।

कार्यक्रममा गाउँपालिकाका सहायक लेखापाल रेशमराज अधिकारी, राष्ट्रिय अपाङ्ग महासंघ लुम्बिनी प्रदेशकी जनवकालत संयोजक सरोजा भण्डारी, सिसहनियाँ स्वास्थ्य चौकी इन्चार्ज धनबहादुर खड्का, इलाका प्रहरी कार्यालय भालुवाङ प्रमुख सुजनबिक्रम शाह, गाउँपालिकाकी महिला बालबालिका शाखाकी कल्पना खनाल, रेडियो राप्ती तथा राप्ती टेलिभिजनका सहायक स्टेसन म्यानेजर सन्तोषकुमार गुप्ता र अपाङ्ग मानव अधिकार तथा सरोकार मञ्चकी बोर्ड सदस्य देवका खनालले आ—आफ्नो धारण राखेका थिए । कार्यक्रमको सहर्जीकरण मञ्चकी सबैका लागि पढाई कार्यक्रम संयोजक गिता पौडेलले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे