भालुवाङमा सरसफाई सम्बन्धी सचेतना कार्यक्रम सुरु, भोली देखि माइकिङ गरिने



भालुवाङमा सरसफाई सम्बन्धी सचेतना कार्यक्रम सुरु, भोली देखि माइकिङ गरिने

भालुवाङ २१ भदौ । दाङको राप्ती गाउँपालिकामा आशाका किरण संस्थाले सरसफाई सम्बन्धी सचेतना कार्यक्रम मंगलवार देखि सुरु गरेको छ ।

लुम्बिनी प्रदेशको स्थायी राजधानीको प्रमुख बजार भालुवाङ सहितका अन्य बजार क्षेत्रमा फोहोर अत्यधिक बढेको भन्दै सो संस्थाले राप्ती गाउँपालिका सँग समन्वय गरेर १ हप्ता सम्म दैनिक रुपमा माइकिङ गर्ने र यातायात व्यवसायी, सवारी साधान तथा व्यापारीहरुलाई जथाभावी फोहोर नफाल्न निर्देशन दिने गरी कार्यक्रमको सुभारम्भ गरेको छ ।

सके सफा गरौ, नसके फोहोर नगरौं, गाडीमा यात्रा गर्दा बाहिर फोहोर नफालौं, डस्वीनमा मात्र फोहोर फालौं, सभ्य नागरिकको परिचय दिउ भन्ने मुल नारा लिएर कार्यक्रमको सुभारम्भ गरिएको छ । कार्यक्रमको सुभारम्भ गर्दै राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले राप्ती गाउँपालिका क्षेत्रको फोहोर व्यवस्थान अवको १÷२ महिनाबाट सुरु हुने बताएका छन् ।

वडा नम्बर ४ मौरीघाटमा जग्गा लिजमा लिइसकिएको र त्यहाँ गल्ने र नगल्ने फोहोरका लागि संरचना निमार्ण भइरहेकोले फोहोर व्यवस्थापन चाँडै हुने विश्वास व्यक्त गरेका छन् । त्यस्तै अध्यक्ष विष्टले फोहोर व्यवस्थापन गाउँपालिका एक्लैले गर्न नसक्ने हुँदा विभिन्न संघसंस्था तथा युवाहरुको आवश्कता रहेको र त्यसमा सवैले स्वमसेवकको रुपमा काम गर्न अनुरोध पनि गरेका छन् ।

अध्यक्ष विष्टले आफुले चुनावका बेला बोलेको कुरा अहिले कार्यन्वयन हुन लागेको बताएका छन् । फोहोर व्यवस्थापन गर्ने ठाउँ तयार हुने बित्तिकै टयाक्टरबाट गल्ने र नगल्ने फोहोर उठाउने काम सुरु हुन्छ । त्यती बेला कसैले जथाभावी फोहोर फालेको पाइए जरिवाना गर्ने र त्यसका लागि प्रहरीलाई जिम्मा दिने समेत बताएका छन् । त्यस्तै अध्यक्ष विष्टले सम्पुर्ण उद्योगी, व्यापारी, यातायात व्यवसायी, चालक, सहचालक, यात्रु तथा सर्वसाधारणलाई समेत जथाभावी फोहोर नफाल्न आग्रह गर्दै गाडी भित्रका यात्रुले गाडी भित्रको डस्वीनमा फोहोर फल्न र व्यापारी तथा सर्वसाधारणहरुलाई पनि डस्वीनमै फोहोर फाल्न आग्रह गरेका छन् ।

संस्थाका अध्यक्ष अशोक बेल्वासेको अध्यक्षता एवम् राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा राप्ती गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष गेमबहादुर खड्का, राप्ती उद्योग वाणिज्य संघ भालुवाङका महासचिव नारायण शर्मा लगायतका वक्ताहरुले महत्वपुर्ण भनाई राखेका थिए ।

कार्यक्रममा उद्योगी, व्यापारी, यातायात व्यवसायी, सुरक्षाकर्मी, सञ्चारकर्मी, विभिन्न संघ संस्थाका प्रमुख तथा सर्वसाधारणको सहभागीता रहेको थियो । कार्यक्रमको सञ्चालन संस्थाका प्रेस संयोजक ओमप्रकाश गुप्ताले गरेका थिए । यसै बीच संस्थाले भदौ २२ गते बुधवार भालुवाङ बजार क्षेत्रमा सरसफाई सम्बन्धी संदेशमुलक माइकिङ गर्ने आयोजकले जानकारी दिएको छ । कार्यक्रममा होटल पौवा भालुवाङले पनि प्राविधिक सहयोग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे