मंसिर ४ गते हुने निर्वाचन लागि थप १५ हजार म्यादी प्रहरी भर्ना गरिने



मंसिर ४ गते हुने निर्वाचन लागि थप १५ हजार म्यादी प्रहरी भर्ना गरिने

काठमाण्डाै १३ भदाै । सरकारले आउँदो मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि थप १५ हजार जना म्यादी प्रहरी भर्ना गर्ने तयारी गरेकाे छ ।  आउँदो चुनावमा मतदानस्थल र मतदाता सङ्ख्या बढ्ने भएकाले पालिकाको चुनावमा भन्दा धेरै म्यादी प्रहरी भर्ना गर्न लागिएको हो । गएको  वैशाख ३० गते भएको पालिकाको चुनावमा एक लाख जना म्यादी प्रहरी भर्ना भएका थिए ।

नेपाल प्रहरीले  प्रदेश र प्रतिनिधि सभाको चुनावमा १ लाख २० हजार  जना म्यादी प्रहरी भर्नाको प्रस्ताव गरेको भए पनि  अर्थ मन्त्रालयले पाँच हजार घटाएर बजेटको सुनिश्चितता गरेको हो । सुरक्षा निकायलाई बजेट तय गरी अर्थले त्यससम्बन्धी पत्र हिजो गृह मन्त्रालयमा पठाएको छ । जसअनुसार १ लाख १५ हजार म्यादी प्रहरी ४० दिन खटिँदा लाग्ने झण्डै ६ अर्ब रुपैयाँ बजेटको सुनिश्चितता दिइएको छ ।

चुनावी सुरक्षाका लागि अर्थ मन्त्रालयबाट बजेटको सुनिश्चितता आएको र त्यसले सुरक्षा योजना बनाउन सहज हुने गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले बताउनुभयो । यस्तै म्यादी प्रहरीको सङ्ख्या जस्तै चुनावमा खटिने प्रहरीको सङ्ख्या पनि यस पटक धेरै हुनेछ ।

यसपटक सरकारी कर्मचारी तथा कैदीले पनि मतदान गर्न पाउने भएकाले मतदानस्थल र मतदान केन्द्र बढ्ने निर्वाचन आयोगले जनाएको छ ।  पालिकाको चुनावमा ६२ हजार प्रहरी खटिएकोमा यसपटक ७२ हजार प्रत्यक्ष खटिने निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे