भालुवाङमा स्वास्थ्य निर्देशनालय स्थापना, अब सवै काम स्थायी राजधानीबाट हुने



भालुवाङमा स्वास्थ्य निर्देशनालय स्थापना, अब सवै काम स्थायी राजधानीबाट हुने

भालुवाङ ९ भदाै । लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयले बुधबार भालुबाङमा स्वास्थ्य निर्देशनालय स्थापना गरेको छ ।

दाङको राप्ती गाउँपालिका वडा नं. १ को वडा कार्यालयमा स्वास्थ्य निर्देशनालय स्थापना गरिएको हो । वडा कार्यालयलाई अन्य भवनमा व्यवस्थापन गरेर स्वास्थ्य निर्देशनालयको सेवा शुरु गरिएको हो । स्वास्थ्य मन्त्री इन्द्रजीत थारुले निर्देशनालयको उद्घाटन गरेका छन् ।

राजधानी कार्यान्वयनको क्रममा स्वास्थ्य निर्देशनालय स्थापना गरिएको उनले जानकारी दिए । जनस्तरबाट प्रदेशका संरचना स्थापना र कार्य सञ्चालनका लागि सहयोग आवश्यक पर्ने उनले बताए । ‘स्थायी राजधानी कार्यान्वयनको चरणमा छौं । अन्य कार्यालयहरु पनि आउँछन्’– उनले भने– ‘प्रदेश राजधानी कार्यान्वयन हाम्रो पहिलो प्राथमिकता छ । त्यही भएर यसमा हामीले बेसी ध्यान दिएका छौं ।’ यसअघि सिसहनियाँमा स्वास्थ्य मन्त्रालय स्थापना गरिएको थियो ।

मन्त्रालय र निर्देशनालय मिलेर प्रदेशभरि स्वास्थ्य सेवा प्रवाहको लागि काम गरिने स्वास्थ्य सचिव विकास देवकोटाले बताउनुभयो । ‘मन्त्रालय स्थापना गर्न पनि निकै साथ सहयोग मिल्यो । अहिले निर्देशनालयको काममा पनि समुदायस्तरबाट प्राप्त भएको सहयोग ठूलो रह्यो’– उनले भने– ‘सरकारले राजधानी कार्यान्वयनलाई ध्यान दिदै मन्त्रालय र विषयगत कार्यालयहरु स्थानान्तरण गरिरहेको यहाँहरुलाई जानकारी नै छ ।’ मुख्यमन्त्री तथा मन्त्रिपरिषद, अन्य मन्त्रालयहरु पनि बुटवलमा भएकाले स्वास्थ्य मन्त्रालय केही समय सुनसान जस्तै बन्यो ।

पछि मन्त्री र सचिवहरु मन्त्रालयमा बस्न थालेपछि अहिले सिसहनियाबाट मन्त्रालयको कामकाज भइरहेको छ । वडा नं. १ को कार्यालय भवन निर्देशनालयको कार्यालय सञ्चालन गर्न दिएर वडा कार्यालय भाडाको घरमा सारिएको वडाध्यक्ष गेमबहादुर खड्काले जानकारी दिए । ‘राजधानी कार्यान्वयनमा हाम्रो पनि दायित्व र जिम्मेवारी रहनुपर्छ । त्यही भएर हामी बसेको कार्यालय स्वास्थ्य निर्देशनालयलाई दिएका हौं’– वडाध्यक्ष खड्काले भने– ‘राजधानीसँग जोडिएका मन्त्रालय र अन्य कार्यालयहरुलाई स्वागत गर्न र तिनको व्यवस्थापनमा जुट्न हामी तयार छौं ।’

स्वास्थ्य मन्त्रालय पनि वडा कार्यालयको भवनमा स्थापना भएको हो । राप्ती गाउँपालिका वडा नं. ५ को कार्यालयमा स्वास्थ्य मन्त्रालय छ । वडा कार्यालय नजिककै भाडाको घरमा सरेको छ । ‘मन्त्रालयको आफ्नै भवन नबन्दासम्म हामी भाडाको घरमा बस्न तयार छौं’– वडाध्यक्ष देवप्रसाद चौधरीले भने– ‘प्रदेशको राजधानी कार्यान्वयनमा ढिलाइ हुनुभएन । हामी मन्त्रालयहरुको व्यवस्थापन गर्न तयार छौं ।’ पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्रालय शुरुमा स्थापना भएको थियो । राप्ती प्राविधिक शिक्षालयको भवनमा मन्त्रालय स्थापना भयो । त्यसपछि कर्मचारीहरु आउन मन नगरेपछि सुनसान बनेको थियो ।

मुख्यमन्त्री कार्यालय नसर्दासम्म राजधानीमा सरेका मन्त्रालयहरु काम विहीन जस्तै भएका छन् । आर्थिक कारोबारको लागि बुटवल जानुपर्ने बाध्यता छ । राप्ती प्राविधिक शिक्षालय गोबरडिहामा पूर्णरुमा सरेमा मन्त्रालय र अन्य कार्यालयहरु मौरीघाटमा स्थापना गरिनेछ । निर्देशनालय उद्घाटन कार्यक्रममा स्वास्थ्य निर्देशक विनोदकुमार गिरीलगायत अन्य विभागका प्रमुखहरुको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे