भालुवाङबासीलाई सरसफाई अभियानमा लाग्न अभियान्ता बुढाथोकीको आग्रह



भालुवाङबासीलाई सरसफाई अभियानमा लाग्न अभियान्ता बुढाथोकीको आग्रह

भालुवाङ ९ भदाै । सरसफाई अभियानका अभियान्ता निमबहादुर बुढाथोकी बिहीबार दाङको भालुवाङ हुँदै धरान प्रस्थान गरेका छन् ।

सके सफा गराैं नसके फोहोर नगराैं भन्ने मुल नारा लिएर सरसफाई अभियानमा लागेका दाङ तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ राजापुरका ३९ वर्षिय बुढाथोकी बिहीबार भालुवाङ आइपुगेका हुन् ।

सरसफाई अभियानकै क्रममा धरान जान लागेका बुढाथोकीलाई भालुवाङमा आशाका किरण संस्था र सञ्चारकर्मीहरूले भव्य स्वागत गरेका छन् । बुढाथोकीलाई आशाका किरण संस्थाका अध्यक्ष अशोक बेल्वासे, सञ्चारकर्मीहरू ओमप्रकाश गुप्ता, बासुदेव न्याैपाने, भिसुन शाही, मुक्तिराम पाैडेल लगायतले स्वागत गरेका थिए ।

२०७७ साल फागुन १ गते तुलसीपुरको बसपार्कबाट सरसफाई अभियानमा लागेका एक्ला अभियान्ता बुढाथोकीलाई साथ दिन यति बेला ३ जना युवा अभियान्ता जोडिएका छन् । तुलसीपुर बसपार्कलाई नमुना बनाउन सरसफाई अभियान चलाएका बुढाथोकी अहिले पनि प्रत्येक हप्ताको शनिबार एक्लै सरसफाइ गर्ने गरेका छन् । गाउँ, शहर सफा स्वच्छ राख्नु पर्छ भन्ने संदेश दिन आफू निरन्तर रूपमा सरसफाई अभियानमा लागेको बुढाथोकीले बताएका छन् ।

भालुवाङमा सञ्चारकर्मीहरू सँग कुरा गर्दै बुढाथोकीले लुम्बिनी प्रदेशको राजधानी भालुवाङ बजार क्षेत्र फोहोरको डंगुरले भरिएको र राप्ती नदी समेत दुर्गन्धित बन्दै जान थालेको प्रति चिन्ता व्यक्त गर्दै अब भालुवाङको फोहोर व्यवस्थापन गर्न भालुवाङबासीलाई सरसफाई अभियानमा लाग्न आग्रह गरेका छन् ।

फोहोर गर्न जान्नेले सफा गर्न किन जान्दैनन् । यदि आफ्नो घर, पसलबाट निस्कने फोहोरलाई आफै व्यवस्थापन गर्न सक्ने हो भने देश नै सफा, स्वच्छ र सुन्दर बन्ने उनले बताए । त्यसैले सम्पुर्ण नागरिकलाई उनले सके सफा गर्न, नसके फोहोर नगर्न आग्रह गर्दै समेत आएका छन् ।

धरानमा अहिले जुन किसिमको विकासको लहर बढेको छ । त्यो लहर दाङमा ल्याउनका लागि आफू धरान जान लागेको र धरानबाट फर्किए लगत्तै भालुवाङमा भव्य कार्यक्रम गरेर सरसफाई अभियान चलाउने बुढाथोकीले बताएका छन् । यस अभियानमा जोडिन सवै युवा वर्गलाई बुढाथोकीले आग्रह समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे