नागरिकता विधेयक पास गर्न भोलीको संसद् बैठकमा प्रस्ताव पेस हुने



नागरिकता विधेयक पास गर्न भोलीको संसद् बैठकमा प्रस्ताव पेस हुने

काठमाण्डाै १ भदाै । राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचार गर्न भन्दै फिर्ता पठाएको नागरिकता विधेयक पुनः पास गर्न बिहीवार संसदमा प्रस्ताव पेस हुने भएको छ ।

प्रतिनिधि सभाको भोलिको बैठकको सम्भावित कार्यसूचीमा नागरिकता विधेयक पारित गर्न प्रस्ताव पेस हुने उल्लेख छ । बिहीवार संसद् बैठकमा गृहमन्त्री बालकृष्ण खाणले राष्ट्रपतिबाट सन्देश सहित फिर्ता भएको नेपाल नागरिकता संशोधन विधेयक माथि पुनर्विचार गरियोस् भनेर प्रस्ताव प्रस्तुत गर्ने छन् । लगत्तै विधेयक पारित गरियोस् भनेर प्रस्ताव प्रस्तुत हुने सम्भावित कार्यसूचीमा उल्लेख छ ।

मङ्गलवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनका दलहरूको बैठकले राष्ट्रपतिले प्रमाणीकरण नगरि प्रतिनिधि सभामै फिर्ता पठाइदिएको नागरिकता विधेयकलाई पुनः अघि बढाउने सहमति गरेको थियो । नागरिकता विधेयकमा यसअघि नै राखिएका प्रावधानलाई संशाेधन नगरिकन नै संसदबाट पास गरेर प्रमाणीकरणका लागि राष्ट्रपतिकाेमा पठाउने गठबन्धनका दलहरूले निर्णय गरेका छन् । सरकारले दोस्रो पटक प्रमाणीकरणका लागि पठाएको विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।

नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक सरकारले साउनको १५ गते प्रमाणीकरणका लागि राष्ट्रपतिकाेमा पठाएको थियो । तर राष्ट्रपतिले विज्ञहरूसँग छलफल गरेर अस्ति आइतवार प्रतिनिधि सभामै फिर्ता पठाइदिएकी थिइन् । उनले नागरिकता विधेयक फिर्ता गर्नुका कारणसमेत संसद् सचिवालयलाई पठाएकी थिइन् । राष्ट्रपतिले फिर्ता पठाएको विधेयक आज प्रतिनिधि सभामा पेस भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे