प्रतिनिधि सभा बैठक बस्दै, नागरिकता सम्बन्धी नयाँ विधेयक पारित गर्ने तयारी



प्रतिनिधि सभा बैठक बस्दै, नागरिकता सम्बन्धी नयाँ विधेयक पारित गर्ने तयारी

काठमाण्डाै ६ साउन । आजको प्रतिनिधि सभा बैठकमा नागरिकता सम्बन्धी नयाँ विधेयक पारित गर्ने तयारी भएको छ । प्रतिनिधि सभा बैठक दिउँसो १ बजे बस्दै छ। सत्तारूढ दलकै र विपक्षी दलका सांसदका संशोधन प्रस्तावका केही मुद्दा सम्बोधन गरेर नागरिकता सम्बन्धी नयाँ विधेयक पारित गर्ने तयारी भएको हो ।

बैठकमा नेपाल नागरिकता पहिलो संशाेधन विधेयक-२०७९ माथि प्राप्त संशोधनलाई निर्णायार्थ प्रस्तुत गरिनेछ । त्यसपछि  गृहमन्त्री बालकृष्ण खाणले ‘नेपाल नागरिकता पहिलो संशोधन विधेयक-२०७९ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

सरकारले गएको २४ गते ‘नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ फिर्ता लिएर नयाँ विधेयक दर्ता गराएको थियो । विधेयकमाथि ३१ वटा समूहका ९४ सांसदका संशोधन प्रस्ताव छन् । संशोधन प्रस्तावमाथिको छलफलपछि विधेयक निर्णायार्थ पेस गर्ने तयारी छ ।

जन्मका आधारमा नेपालको नागरिकता प्राप्त गरेको नागरिकको सन्तानका बाबु र आमा दुवै नेपालको नागरिक रहेको अवस्थामा १६ वर्ष उमेर पुगेका सन्तानलाई वंशजका आधारमा नागरिकता दिने व्यवस्था छ ।

यस विषयमा सबै दलबीच सहमति छ । २०७२ साल असोज ३ गतेभन्दा अघि जन्मका आधारमा नेपालको नागरिकता प्राप्त गरेका व्यक्तिका सन्तानको हकमा यो प्रावधान लागू हुने विधेयकमा भनिएको छ ।

यस्तै, नेपाली आमाबाट नेपालमा जन्म भइ नेपालमा नै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिलाई वंशजका आधारमा नेपालको नागरिकता दिने उल्लेख छ । यसका लागि निवेदकले स्व:घोषणा गर्नुपर्ने हुन्छ । यसरी नागरिकता लिँदा कसैले झुटो विवरण पेस गरेको पाइएमा उसलाई कारबाही हुने व्यवस्था राख्न लागिएको छ  ।

यस्तै, गैरआवासीय नागरिकलाई नागरिकता दिने विषय पनि विधेयकमा उल्लेख छ । राजनीतिक र प्रशासनिक अधिकारबाहेक आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसहित गैरआवासीयलाई नागरिकता दिने विधेयकमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे