आज प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको ४०औँ स्मृति दिवस मनाइँदै



आज प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको ४०औँ स्मृति दिवस मनाइँदै

काठमाण्डाै ६ साउन । आज प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला वीपीको ४०औँ स्मृति दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै छ  ।

नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गरेका कोइरालाको जन्म १९७१ साल भदौ २४ गते भएको थियो भने २०३९ साल साउन ६ गते निधन भएको थियो । २०१५ सालको संसदीय चुनावपछि २०१६ साल जेठमा उहाँ पहिलो निर्वाचित प्रधानमन्त्री बनेका थिए ।

२०१५ सालको आम चुनावमा कांग्रेसले दुई तिहाइ बहुमत प्राप्त गरेपछि प्रधानमन्त्री बनेका कोइरालाले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व प्रदान गरेका थिए । तर, जननिर्वाचित सरकारलाई तत्कालीन राजा महेन्द्र शाहले २०१७ साल पुस १ गते अपदस्त गरी निरङ्कुश शासन सुरु गरेपछि कोइरालासहित नेतालाई सिंहदरबारमै बन्दी बनाइएको थियो ।

एक महिनापछि काठमाडौको सुन्दरीजलमा उहाँ लगायत प्रथम सभामुख कृष्णप्रसाद भट्टराई, कांग्रेस नेता गणेशमान सिंह लगायतलाई बन्दी बनाइएको थियो ।

२०२५ सालमा स्वास्थ्य परीक्षणका लागि कारागारमुक्त  कोइरालाले आठ वर्षसम्म भारतमा निर्वासित भए । तर विदेशी भूमिमा निर्वासित भएर स्वदेशको प्रजातन्त्र पुनर्स्थापनाका लागि लड्दा राष्ट्रियता कमजोर भएको र अपमान सहनुपरेको विश्लेषण गरी उनी२०३३ साल पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ स्वदेश फर्कीएका थिए । त्यसबेला आठवटा ज्यान मुद्दा लगाइएका वीपीलाई  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै सुन्दरीजल बन्दी गृहमा लगिएको थियो ।

नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक समेत रहेका कोइरालाका डेढ दर्जन साहित्यिक कृति प्रकाशित छन् । तीन घुम्ती, मोदी आइन, हिटलर र यहुदी, सुम्निमा, नरेन्द्रदाइ, बाबु, आमा र छोरा गरी ६ वटा उपन्यास तथा श्वेत भैरवी र दोषी चश्मा गरी २ वटा कथा सङ्ग्रह प्रकाशित छन् । उहाँको आत्मवृत्तान्त र सुन्दरीजल बन्दी गृहमा बस्दाको दैनिकीमा आधारित जेल जर्नल पनि उत्तिकै रुचाइएका पुस्तक हुन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे