समयमा तलब नपाएको र कम पाएको भन्दै पत्रकार महासंघमा तीन सय उजुरी
काठमाडौं २५ असार । नेपाल पत्रकार महासंघमा समयमा तलब नपाएको र कम तलब पाएको भन्दै ३०० उजुरी परेको छ । महासंघका अध्यक्ष बिपुल पोख्रेलले पत्रकार महासंघमा आफू अध्यक्ष भएर आएपछि मात्रै ३०० उजुरी परेको जानकारी दिएका हुन् ।
शनिबार ‘श्रमजीवी पत्रकार ऐन कार्यान्वयनको अवस्था, चुनौती र भावी रणनीति’ विषयक प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष पोखरेलले महासंघले समस्यामा परेकाहरूको सन्दर्भमा मौखिक आग्रह गर्ने, नभए दबाब दिने र मुद्दाको प्रक्रियामासमेत जाने रणनीति अन्तरगत कार्य गर्दै आएको बताए ।
तलब नदिने मिडियालाई कालो सूचीमा राखेर अगाडि बढ्न आवश्यक रहेको उनले बताए । महासंघ मिडिया हाउसको अगाडि उभिन, सडकमा उत्रिन र मन्त्रालयको अगाडि उभिन तयार रहेको बताए ।तर समस्या समाधानका लागि नीतिगत रुपमै सुधार गरेर जानुपर्नेमा उनले जोड दिए ।
‘हाम्रो आँखामा परेका पत्रकारका समस्या समाधान गर्न सकिएला तर आँखामा नपरेका साथीहरूको समस्या समाधान गर्न व्यक्तिगत रुपमा नसकिएला यसकारण नीतिगत रुपमै समाधानमा केन्द्रित हुनुपर्ने छ । हामी यसमै केन्द्रित छौं,’ उनले भने ।