अर्थमन्त्री जनार्दन शर्माद्वारा राजीनामा, छानबिन गर्न ११ सदस्यीय संसदीय विशेष समिति गठन



अर्थमन्त्री जनार्दन शर्माद्वारा राजीनामा, छानबिन गर्न ११ सदस्यीय संसदीय विशेष समिति गठन

काठमाडाैँ २२ असार । अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिनुभएको छ । आज प्रतिनिधि सभा बैठकमो सांसदले उठाएका प्रश्नको जवाफ दिँदै उहाँले राजीनामा दिनुभएको हो ।

उहाँमाथि छानबिन गर्न आजै संसदले ११ सदस्यीय छानबिन समिति गठन गरेपछि शर्माले आफूले कुनै गल्ती नगरेको तर पनि समिति बनेपछि राजीनामा दिँदा उपयुक्त हुने ठानेर मार्गप्रशस्त गरेको बताउनुभयो ।

उहाँले छानबिन समितिलाई सघाउने प्रतिबद्धता पनि जनाउनुभएको छ । ‘मेरो राजीनामा माग्ने नागरिक समाज, युवा पङ्क्तिलाई धन्यवाद । मैले गल्ती गरेको छैन । तथ्यमा गइदिनुहोला धन्यवाद’, अर्थमन्त्री शर्माले भन्नुभयो ।

यसैबीच प्रतिनिधि सभामा सम्बोधन गर्दै शर्माले बजेट निर्माणको क्रममा आफूले कुनै गल्ती नगरेको जिकिर गर्नुभएको छ । उहाँले देश र नागरिकको हितमा बजेट ल्याएकै कारण अनैतिक काम गरेको आरोप लागेको दाबी गर्नुभयो ।

नेकपा एमालेले विगतमा गरेको आफ्ना कर्तुत लुकाउन वा ओझेलमा पार्न अहिले नचाहिने हल्ला चलाएको शर्माले आरोप लगाउनुभयो । राजनीतिक प्रतिशोधका आधारमा आफूलाई आरोप लगाइएको भन्दै मन्त्री शर्माले छानबिन समितिलाई आफूले सहयोग गर्ने पनि बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘छानबिन समितिले आफ्नो काम गरोस्, बजेट निर्माण गर्दा कुनै त्रुटि गरेको छैन । स्थापित मान्यता र तोकिएका आधिकारिक व्यक्ति राखेर बजेट निर्माण गरिएको छ । करको दर हेरफेर गर्ने सन्दर्भमा मन्त्रायलका दुई जना सचिव र दुई जना महानिर्देशकलाई मार्ग निर्देशन दिएको हो, आम नागरिकको पक्षमा बजेट आएको विषय कसैलाई सैह्य भएको छैन ।’

उहाँले मन्त्रालयको सीसीटीभी फुटेजको विषयमा आफूलाई मुछ्नु दुःखद भएको बताउनुभयो । एउटा मन्त्रीलाई सीसीटीभीको विषय कसरी थाहा हुन्छ भनेर उहाँले प्रश्न गर्नुभयो । ‘कुन सीसीटीभीको क्षमता कति छ र कहिले राखेको भन्ने विषय मन्त्रीलाई थाहा हुन्छ ? अरू मन्त्रीहरूलाई आफ्नो मन्त्रालयको सीसीटीभीको बारेमा जानकारी छ ? यो संसद् भवनमा कति क्षमताका क्यामेरा छन्, माननीयहरूलाई थाहा छ त ?’ शर्माले भन्नुभयो ।

११ सदस्यीय संसदीय विशेष छानबिन समिति गठन

बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा प्रवेश दिएको विषयमा ११ सदस्यीय संसदीय छानबिन विशेष समिति गठन गर्ने प्रस्ताव प्रतिनिधि सभाबाट पारित भएको छ । सभामुख अग्नि सापकोटाले राखेको ११ सदस्य विशेष छानबिन समिति गठन गर्ने प्रस्ताव प्रतिनिधि सभाबाट पारित भएको हो ।

सभामुखले प्रस्ताव वाचन गर्दै सांसदहरू खगराज अधिकारी, देव गुरुङ, पुष्पा भुसाल, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, विमला विक, लक्ष्मणलाल कणर्, शक्ति बस्नेत, सरलाकुमारी यादव, सीताराम महतो र सुरेन्द्रप्रसाद यादव सदस्य रहेको छानबिन समिति गठन गरिएको जानकारी दिनुभएको छ । समितिले करका दर हेरफेर गर्ने क्रममा अनधिकृत व्यक्तिको प्रवेशका विषयमा सत्य/तथ्य खोजेर प्रतिवेदन बनाएर पेस गर्नेछ । समितिलाई दश दिनको समय दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे