सङ्घ र प्रदेशको चुनाव मङ्सिर २ गते गर्न प्रस्ताव



सङ्घ र प्रदेशको चुनाव मङ्सिर २ गते गर्न प्रस्ताव

काठमाण्डाै २२ असार । निर्वाचन आयोगले सङ्घ र प्रदेशको चुनाव आउँदो मङ्सिर २ गते गर्न प्रधानमन्त्रीसँग प्रस्ताव गरेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशप्रसाद थपलियासहितको आयोगको टोलीले आज बुधवार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर मङ्सिर २ गते एकै चरणमा सङ्घ र प्रदेशको चुनाव गर्न प्रस्ताव गरेको हो ।

आयोगले जटिल मानिएको पालिका चुनाव एकै चरणमा सफलतापूर्वक सम्पन्न भइसकेको अवस्थामा सङ्घ र प्रदेश सभाको चुनाव पनि एकै चरणमा गर्न सकिने बताएको छ । जवाफमा प्रधानमन्त्री देउवाले मङ्सिर २ गतेको मिति केही तलमाथि हुन सक्ने तर सरकारले अवधि तलमाथि नपर्ने गरी चाँडै मिति घोषणा गर्ने बताउनुभएको प्रमुख निर्वाचन आयुक्त थपलियाले जानकारी दिए । एक सय २० दिनकै अवधि राखेर सरकारले मिति घोषणा गर्ने भन्दै प्रधानमन्त्री देउवाले आयोगलाई आफ्ना नियमित काम जारी राख्न सुझाव दिए ।

निर्वाचन आयोगले सङ्घ र प्रदेशको चुनाव गर्न १० अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान प्रधानमन्त्री समक्ष पेस गरेको छ । आयोगले २०७४ सालको सङ्घ र प्रदेशको चुनावमा सात अर्ब ८० करोड रुपैयाँ खर्च भएकोमा यो पटक विविध कारणले खर्च बढेर १० अर्ब रुपैयाँ पुग्ने अनुमान गरेको हो ।

कर्मचारीको तलब भत्ता, दैनिक भत्ता र भ्रमण खर्चमा भएको वृद्धि, मतदाता सङ्ख्यामा भएको वृद्धि, मतदानस्थल र केन्द्रको सङ्ख्या थपिनु, सूचना प्रविधिको प्रयोग बढाउनुपर्ने, मतदान सामग्रीमा भएको मूल्यवृद्धि, ढुवानी खर्च र ज्याला लगायतका कारण आउँदो चुनावमा खर्च बढ्ने आयोगको तर्क रहेको छ ।  यस्तै आयोगले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर मङ्सिर २ गते एकै चरणमा सङ्घ र प्रदेशको चुनाव गर्न प्रस्ताव गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे