प्युठानको बडडाँडामा ४० औं मगर दिवस मनाइयाे, मगर खाम भाषाको पढाई हुनुपर्ने माग
प्युठान १५ फागुन । प्युठानको सरूमारानी गाउँपालिका वडा नम्बर ४ बडडाँडामा आइतबार ४० औं मगर दिवस मनाइएको छ । सरूमारानी गाउँपालिकाको आर्थिक सहयोग तथा नेपाल मगर संघको आयोजनामा मगर दिवस मनाइएको हो ।
मगर संघका अध्यक्ष तुलसीराम सारू मगरको अध्यक्षता एवम् सरूमारानी गाउँपालिकाका अध्यक्ष झगबहादुर विश्वकर्माको प्रमुख आतिथ्यता, उपाध्यक्ष लिलाकुमारी सोमइमगर र प्रमुख प्रशासकीय अधिकृत चिन्तामणि रेग्मीको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने वक्ताहरूले मगर भाषाको संरक्षणका लागि मगर खाम भाषाको पढाईको माग गरेका थिए ।
साथै उनीहरूले मगरहरूको भेषभुसा, संस्कार संस्कृतिको संरक्षणका लागि युवा पुस्ताले ध्यानदिनु पर्ने बताएका थिए । त्यस्तै उनीहरूले मगरहरूको हक अधिकारका लागि मगरहरू एकजुट हुनुपर्ने बताएका थिए । मगर संघका सदस्य घनबहादुर मास्केको स्वागत मन्तव्य सुरू भएको कार्यक्रममा गुप्तबहादुर राना, नेपाल पत्रकार महासंघ प्युठानका सदस्य प्यार अलि खाँ, सन्तबहादुर दर्लामी मगर, वडा नम्बर ४ का वडा अध्यक्ष चिन्तबहादुर सोमइ मगर लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा विभिन्न साँस्कृतिक प्रस्तुति समेत प्रस्तुत गरिएको थियोे । त्यसै गरि कार्यक्रममा विभिन्न प्रतियोगिताका विजेताहरूलाई पुरस्कार समेत प्रदान गरिएको थियो । कार्यक्रमको सञ्चालन नेपाल मगर संघका सचिव किसान सारू मगरले गरेका थिए ।


