बालुवाटारमा देउवा-ओली भेट : एमालेको अडान कायमै



बालुवाटारमा देउवा-ओली भेट : एमालेको अडान कायमै

काठमाण्डौ १२ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचको भेटवार्ता केहीबेरअघि सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहीवार बेलुकी भएको भेटवार्तामा उनीहरूबीच संसद्को अवरोध खुलाउने र एमसीसी सम्झौता अनुमोदनको वातावरण बनाउने विषयमा छलफल भएको सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बैठकपछि जानकारी दिएका छन् ।

छलफलमा प्रधानमन्त्री देउवाले सबैको सहयोगमा संसदबाट एमसीसी अनुमोदन गरौँ भनेर प्रस्ताव गरेका थिए । जवाफमा अध्यक्ष ओलीले जुन कारणले आफूहरूले संसद् अवरोध गरिरहेको हो, पहिला त्यसको निराकरण गर्नुपर्ने विषय राख्नुभएको उनले जानकारी दिए ।  एमालेले आफूहरूले कारबाही गरेका १४ सांसद पदमुक्त भएको सूचना सभामुखले टाँस नगरेको भन्दै ६ महिनादेखि संसद् अवरोध गर्दै आइरहेको छ ।

लामो समयदेखि अवरोध हुँदै आएको संसद्लाई व्यवस्थित ढङ्गले सञ्चालनका गर्नका निमित्त प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षी दलका नेतासँग संसद् भवन र बालुवाटारमा लामो छलफल गरेकाे सरकारका प्रवक्ता समेत रहेका कार्कीले जानकारी दिए । संसद्लाई प्रभावकारी बनाउन दलहरूसँगको छलफल चलिरहने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे