देउखुरीमा मनाउन लागिएको लुम्बिनी प्रदेशको स्थापना दिवसको सम्पुर्ण तयारी पुरा



देउखुरीमा मनाउन लागिएको  लुम्बिनी प्रदेशको स्थापना दिवसको सम्पुर्ण तयारी पुरा

भालुवाङ ३ फागुन । लुम्बिनी प्रदेश सरकारले आफ्नो प्रदेश स्थापना दिवस स्थायी राजधानी दाङको देउखुरीमा मनाउन लागेको छ ।

आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयको आयोजनामा हुने कार्यक्रम स्वास्थ्य मापदण्ड पालना गर्दै सरकारले घोषणा गरेको पदक र विभूति प्राप्त गर्ने संस्था र व्यक्तिहरू, कार्यक्रम आयोजना हुने स्थानीय तहका जनप्रतिनिधि, स्थानीय पालिकामै रहेका संघसंस्थाका प्रतिनिधिहरूलाई मात्र कार्यक्रममा आमन्त्रण गरिएको छ ।

सूचना अधिकारी कमान सिंह थापा मगरका अनुसार आज विहान ११ बजे राप्ती गाउँपालिका वडा नम्बर ३ मा रहेको राप्ती प्राविधिक शिक्षालयको हाताभित्र  मनाउन लागिएको स्थापना दिवसको तयारी पूरा भएको र सबै मन्त्री तथा प्रदेश प्रमुख दाङ पुगेका छन् ।

प्रदेश प्रमुख अमिक शेरचन, मुख्यमन्त्री कुलप्रसाद केसी, प्रदेशससभा सभामुख पूर्ण घर्तीसहित प्रदेश मन्त्रीहरूको सहभागिता रहने कार्यक्रममा मन्त्रालयहरूले गरेको प्रगति प्रतिवेदन, प्रदेशको डकुमेन्ट्री सार्वजनिक तथा पदक र विभुषण वितरण गरिने उनले बताए । 

प्रदेश राजधानीका सबै गतिविधि अस्थायी राजधानी बुटवलबाट सञ्चालन भएपनि स्थापना दिवस स्थायी राजधानीमा मनाउन लागिएको हो । १७ महिना अगाडि घोषणा भएको स्थायी राजधानीमा संरचना नबन्दा बुटवल मुकामबाटै सरकारले सबै काम गर्दै आएको छ ।

यसैबीच लुम्बिनी प्रदेश सरकारले फागुन ३ गते आज प्रदेश स्थापना दिवसको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिएको छ । 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे