प्रदेश स्थापना दिवस पछि मन्त्रालयको सवै काम देउखुरीबाटै हुन्छ : स्वास्थ्य मन्त्री थारु
भालुवाङ २ फागुन । लुम्बिनी प्रदेशका स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालयका मन्त्री इन्द्रजीत थारुले प्रदेश स्थापना दिवस लगत्तै स्वास्थ्य मन्त्रालयका सम्पूर्ण कामकाज स्थायी राजधानी देउखुरीबाटै सुरु गर्ने बताएका छन् ।
चौथो लुम्बिनी प्रदेश स्थापना दिवसको दोस्रो दिन दाङ—देउखुरीको भालुवाङमा आयोजित रक्तदान तथा खोप सेवा कार्यक्रमको उद्घाटन गर्दै मन्त्री थारुले प्रदेश स्थापना दिवस लगत्तै स्वास्थ्य मन्त्रालयका सम्पूर्ण कामकाज स्थायी राजधानी देउखुरीको सिसहनियाँबाटै शुरु गर्ने प्रतिबद्धता व्यक्त गरे ।
मन्त्रालयको उद्घाटन स्थायी राजधानी देउखुरीमा गरिएको भएपनि विबिध कारणले देउखुरीबाट सेवा दिन नसकिएको भएपनि अब मन्त्रालयका सम्पूर्ण सेवा स्थायी राजधानीबाट दिने गरी तयारी शुरु गरिएको समेत बताए ।
मन्त्री थारुले अगामी चैत मसान्त सम्म लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका सम्पूर्ण नागरिकहरुलाई कारोना बिरुद्धको खोप लगाउने लक्ष्य रहेको बताए । उनले चैत मसान्त सम्म लुम्बिनी प्रदेशलाई कोरोना बिरुद्धको पूर्ण खोप प्रदेश बनाउने गरी प्रदेश सरकार अगाडी बढेको बताए
साथै मन्त्री थारुले दाङ जिल्लाको प्रस्तावित भालुवाङ अस्पताल, ट्रमा सेन्टर लमही र राप्ती प्रादेशीक अस्पताल तुलसीपुरको आवश्यक भौतिक पूर्वाधारको विकास गरी स्तरउन्नती गरिने बताउनु भयो । उनले यी तीन वटै स्वास्थ्य संस्थाको विकासका लागि स्वास्थ्य मन्त्रालयले काम गरिरहेको समेत बताए ।
मन्त्रालयका सचिव विकास देवकोटाको अध्यक्षता एवम् स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालयका मन्त्री इन्द्रजीत थारुको प्रमुख आतिथ्य तथा राप्ती गाउँपालिकाकी उपाध्यक्ष जगदम्बाकुमारी चौधरीको बिशिष्ट आतिथ्यमा रक्तदान कार्यक्रममा ४ महिला २७ पुरुष गरी जम्मा ३१ जनाले रक्तदान गरेका छन् ।
यसैगरी सोही कार्यक्रममा १ सय ६९ जना महिला र १ सय ३५ जना पुरुष गरी कुल ३ सय ४ जनाले कोरोना बिरुद्धको विभिन्न खोप लगाएको राप्ती गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण राउतले जानकारी दिएका छन् । जस अन्र्तगत जोन्सन एण्ड जोन्सन खोप १ सय ९ जना महिला र ६८ पुरुष गरी कुल १ सय ७७ जनाले कोरोना बिरुद्धको खोप लगाएका छन् ।
यसैगरी भेरोसेल दोस्रोडोज मात्र महिला २५ जना पुरष २७ जना गरी कुल ५२ जनाले खोप लगाएका छन् । त्यस्तै कोभिशिल्ड दोसो डोज खोप १३ जना महिला, १२ पुरुष गरी २५ जनाले खोप लगाएका छन् भने मोर्डना खोप १२ जना महिला र २८ पुरुष गरी कुल ५० जनाले कोरोना बिरुद्धको खोप लगाएको स्वास्थ्य शाखा प्रमुख राउतले जानकारी दिए । यस्तै सोही कार्यक्रममा १ सय ३ जनाले एन्टिजेन मार्फत कोरोना परिक्षण गर्दा २ जनामा संक्रमण पुष्टि भएको समेत स्वास्थ्य शाखा प्रमुख राउतले जानकारी दिएका छन् ।