राप्ती गाउँपालिकाका महिलाहरु सिलाई कटाई पेशा तर्फ आकर्षित



राप्ती गाउँपालिकाका महिलाहरु सिलाई कटाई पेशा तर्फ आकर्षित

भालुवाङ १ फागुन । दाङ देउखुरीको राप्ती गाउँपालिकाका महिलाहरु सिलाई कटाई पेशामा आकर्षित भएका छन् । कम लगानीमा घरमै बसेर काम गर्न सकिने भएकाले उनीहरू सिलाई कटाई पेशामा आकर्षित भएका हुन् ।

राप्ती गाउँपालिका वडा नम्बर ४ मौरीघाटमा रहेको सर्वहित बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा आइतवार देखि आफ्नै कार्यालय मौरीघाटमा ३ महिने सिलाई कटाई तालिम सुरु भएको छ । तालिम संयोजक हंशराज चौधरीको अध्यक्षता एवम् राप्ती गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष विष्णुबहादुर घर्ती क्षेत्रीको प्रमुख आतिथ्यतामा तालिमको उद्घाटन गरिएको हो ।

संस्थाकी उपाध्यक्ष निर्मला चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको तालिम उद्घाटन कार्यक्रममा सञ्चालक समितिका सदस्यहरु बुद्धिमान चौधरी, मता केसी लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । तालिमको विषयवस्तु बारे संस्थाका व्यवस्थापक शिशिर चौधरीले गराएका थिए भने कार्यक्रमको सञ्चालन लेखा समिति सदस्य मेनुका गिरीले गरेकी थिइन् ।

तालिममा संस्थाका १० जना महिलाहरुको सहभागी रहेको छ भने तालिमको प्रशिक्षकमा प्रभादेवी चौधरी रहेकी छिन् । तालिममा सहभागी महिलाहरुले सिप सिकेर घरमै केहि गर्ने योजना बनाएको बताएका छन् । सहकारी संस्थाले बचत तथा ऋण लगानी गर्ने मात्र नभएर समाजिक क्षेत्रमा पनि केहि गर्नु पर्छ भन्ने उदेश्यले महिलाहरुलाई आत्मनिर्भर बनाउन सिलाई कटाई तालिम दिन लागिएको तालिम संयोजक हंशराज चौधरीको भनाई रहेको छ ।

२०६९ सालमा सहकारी डिभिजन कार्यालय दाङमा दर्ता गरी स्थापना भएको सहकारी संस्थाले स्थापना काल देखि नै शिक्षा, स्वास्थ्य तथा सामाजिक क्षेत्र सँगै बालबालिकाको क्षेत्रमा समेत काम गर्दै आएको सहकारी संस्थाका व्यवस्थापक शिशिर चौधरीले बताउनु भयो । करिव १ हजार ८ सय शेयर सदस्य र करिव ११ करोड कारोवार रहेको यस सहकारी संस्थाले हाल विभिन्न प्रकारका रेमिटान्स सेवा, बचत तथा ऋण लगानी, सहकारी सम्बन्धी विभिन्न कार्यक्रम र समाजका नागरिकहरुलाई सहकारी ज्ञान समेत दिदै आएको छ ।

राप्ती गाउँपालिकाको ९ वटै वडालाई कार्य क्षेत्र बनाएको सहकारीले राप्ती गाउँपालिका वडा नम्बर ६ को पत्थरगढवा र वडा नम्बर १ को शान्तिपुर चैतेमा आफ्नो शाखाको रुपमा सेवा केन्द्र नाम दिएर सेवाग्राहीहरुलाई सेवा दिदै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे