कोरोनाबाट बच्न सात “भ” को अनिबार्य प्रयोग गर्न प्रजिअ रेग्मीको आग्रह



कोरोनाबाट बच्न सात “भ” को अनिबार्य प्रयोग गर्न प्रजिअ रेग्मीको आग्रह

भालुवाङ १४ माघ । दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले कोरोनाबाट बच्न सात “भ” कोे अनिवार्य प्रयोग गर्नुपर्ने बताएका छन् । दाङ—देउखुरीको राप्ती गाउँपालिका—२ लालमटियामा रहेको रेडियो राप्ती ९८.४ मेगाहर्ज तथा राप्ती टेलिभिजनको बहुचर्चित कार्यक्रम राप्ती संवादमा कुरा गर्दै उनले सो कुरा बताएका हुन् ।

प्रमुख जिल्ला अधिकारी रेग्मीले कोरोनाबाट बच्न दाङबासी मात्र नभई देश तथा बिदेशमा जहाँ कोरोना संक्रमण छ, त्यहाँका सबै नागरिकले सात “भ” कोे अनिवार्य प्रयोग गर्नुपर्ने बताए ।

उनले सात “भ” काे व्याख्या गर्दै भने, सात “भ” भनेको भिडभाँड, भौतिकदुरी, भ्याक्सिन, भ्यानटिलेटर, भैकल, भोलिन्टिएर र भरोसा रहेको बताए । यी सात वटा “भ” को प्रयोग हामी सबैले गर्न आवश्यक छ, यी सात वटा “भ” को प्रयोग गर्न सक्यौँ भने मात्र कोरोना संक्रमणबाट सुरक्षित हुन सकिने ठोकुवा समेत गरे ।

प्रजिअ रेग्मीले अब जिल्लामा कोरोना बिरुद्धको खोपलाई अझै व्यापक बनाइदै लगिने र सम्पूणर् दाङबासीलाई कोरोना बिरुद्धको खोप लगाएर दाङलाई पूणर् खोप जिल्ला बनाउने समेत बताए ।

उनले दाङमा कोरोना संक्रमणदर बढेपनि भयावहको अवस्था नभएको बताए । उनले जिल्लामा ९८ प्रतिशत संक्रमित होमआइसुलेसनमा रहेको र सबै संक्रमितको स्वास्थ्य अवस्था पनि समान्य रहेकोले बताए । बिगतमा जस्तो अहिलेको संक्रमण त्यति खतरा नरहेपनि सावधानी भने अपनाउनु पर्ने बताएका छन् ।

प्रजिअ रेग्मीले जिल्लामा संक्रमणदर बढेपनि मृत्युदर भने अत्यन्तै न्युन रहेको बताए । उनले संक्रमणबाट मृत्यु हुनेमा बृद्धाबृद्ध, दिर्घरोगी, बालबालिका र खोप नलगाएका व्यक्तिहरु मात्र रहेको बताए ।

उनले कोरोना बिरुद्ध जहाँ जुन भ्याक्सिन पाइन्छ त्यही भ्याक्सिन लगाउन पनि अनुरोध गरे । भ्याक्सिन लगाउने भन्दा नलगाउने व्यक्ति बढी जोखिममा रहेकोले सबै नागरिकले जहाँ जुन भ्याक्सिन पाइन्छ त्यहाँ त्यही भ्याक्सिन लगाउन सम्पूर्ण दाङबासीमा अनुरोध समेत गरेका छन् ।

सो अवसरमा प्रजिअ रेग्मीले रेडियो राप्ती तथा राप्ती टेलिभिजनको स्थलगत अवलोकन तथा निरीक्षण गर्नुका साथै आफूले आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।

प्रजिअ रेग्मीलाई रेडियो राप्ती तथा राप्ती टेलिभिजनका सहायक स्टेसन म्यानेजर तथा सहायक समाचार प्रमुख सन्तोषकुमार गुप्ता, लेखा तथा प्राविधिक प्रमुख अरुण पौडेल, प्रमुख समाचार बाचिका तथा स्टेसन व्यवस्थापक अंशु बोहरा र सहायक समाचार बाचिका तथा कार्यक्रम प्रस्तोता हुमा सुनार लगायतका कर्मचारीहरुले खादा ओढाएर स्वागत तथा सम्मान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे