नेपालमा एकै दिन १६ जनाको मृत्यु, १० हजार २५४ जनामा कोरोना संक्रमण पुष्टि



नेपालमा एकै दिन १६ जनाको मृत्यु, १० हजार २५४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाण्डाै ८ माघ । कोरोना संक्रमणबाट थप १६ जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १६ जनाको ज्यान गएसँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ६ सय ५१ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १० हजार दुई सय ५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी २० हजार एक सय ८७ जनाको नमूना परीक्षण गर्दा ५० दशमलव ९७ प्रतिशत अर्थात १० हजार दुई सय ५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा सात सय आठ जना निको भएका छन् । यो सहित कोरोना संक्रमणमुक्त हुनेको संख्या आठ लाख २० हजार दुई सय ८३ जना पुगेको छ । अहिले नेपालमा ७२ हजार आठ सय ६२ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् । यसैबीच पछिल्लो २४ घण्टामा एक लाख ९६ हजार आठ सय ५७ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ संक्रमितमध्ये ५३०६ जना काठमाडौं उपत्यकाका छन् । काठमाडौंमा ३७६२, ललितपुरमा १११० र भक्तपुरमा ४३४ जना संक्रमित थपिएका हुन् ।

यस्तै कास्कीमा ४००,मोरङमा २७३, सुनसरीमा २१२, कैलालीमा १७०, चितवनमा १५३, रुपन्देहीमा १४९, बाँकेमा १४८, मकवानपुरमा १४७ र काभ्रेमा १०१ जनामा संक्रमण पुष्टि भएको छ ।

संक्रमणदर अझ बढ्यो

मन्त्रालयका अनुसार देशभरमा २० हजार १८७ नमुना परीक्षण गरिएको थियो । १४ हजार ४६२ नमुनाको पीसीआर टेष्ट गर्दा ८ हजार ३१२ र ५ हजार ७२५ नमुनाको एन्टीजेन टेष्ट गर्दा २ हजार ४२ गरी १० हजार २५४ जनामा संक्रमण पुष्टि भएको हो ।

यसरी हेर्दा पीसीआरतर्फ संक्रमणदर बढेर ५६.८ प्रतिशत पुगेको छ । बुधबार ५२.६ रहेको संक्रमण दर पछिल्लो दुई दिनमा क्रमशः ४७.९ र ४७.३ थियो ।

१५ जिल्लामा संक्रिय सक्रमित धेरै

पछिल्लो २४ घण्टामा ७०८ जना संक्रमणमुक्त भएका छन् र हाल ७२ हजार ८६२ संक्रिय संक्रमित छन् । हरेक जिल्लामा संक्रमण देखिएको छ भने १५ जिल्लामा संक्रिय संक्रमितको संख्या ५०० बढी छ ।

मन्त्रालयका अनुसार प्रदेश १ को झापा, मोरङ र सुनसरी, मधेस प्रदेशको धनुषा, वागमतीको काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर र काभ्रे, गण्डाकीको कास्की र नवलपुर, लुम्बिनीको बाँके र रुपन्देही तथा सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लामा संक्रमितको संख्या ५०० बढी छ । १७ जिल्लामा संक्रिय संक्रमितको संख्या २०० भन्दा बढी भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे