राप्ती प्राविधिक शिक्षालयलाई फागुन १२ गतेभित्र सार्न मुख्यमन्त्रीको निर्देशन



राप्ती प्राविधिक शिक्षालयलाई फागुन १२ गतेभित्र  सार्न मुख्यमन्त्रीको निर्देशन

भालुवाङ ८ माघ । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले राप्ती प्राविधिक शिक्षालयलाई फागुन १२ गतेभित्र सार्न निर्देशन दिएका छन् ।

बुटवलमा बिहीबार आयोजित राजधानी व्यवस्थापन तथा राप्ती प्राविधिक शिक्षालयको स्थानान्तरण समितिको बैठकमा केसीले यस्तो निर्देशन दिएका हुन् ।

सरकारको मुख्य काम प्रदेश राजधानी निर्माण भएको बताउँदै उनले यसमा कुनै पनि कसुर बाँकी नराखी काम गर्ने प्रतिबद्धतासमेत जनाए ।

मुख्यमन्त्री केसीले राजधानी निर्माणका लागि राप्ती प्राविधिक शिक्षालयले छिटो प्रक्रिया अगाडि बढाइदिएमा त्यसमा ग्रामीण पर्यटन एवं पूर्वाधार मन्त्रालयले त्यसको व्यवस्थापनका लागि सबै तयारी गर्ने बताए ।

उनले राप्ती प्राविधक शिक्षालयलाई प्रदेश सरकारले प्रदान गरेको १० करोड रुपैयाँको कार्ययोजना बनाएर पेश गर्न आग्रहसमेत गरे ।

‘तपाईंहरू प्रदेश सरकारमा कार्ययोजना बनाएर पठाउनुहोस्, प्रदेश सरकारका मन्त्री, प्रमुख सचिव, सचिवहरूले पनि सहयोग गरीदिन्छन्‚’ उनले भने ।

मुख्यमन्त्री केसीले राप्ती र गढवाबासीलाई पनि सहयोग गर्न आग्रह गरे । ‘यो कसैप्रतिको हिनता होइन‚ प्रदेशको राजधानी निर्माण गर्ने विषयमा आम प्रदेशबासीको गौरवको विषय हो,’ उनले भने ।

शिक्षामन्त्री बसीउद्दिन खाँले शिक्षा क्षेत्रलाई प्रदेश सरकारले पहिलो प्राथमिकतामा राखेको बताउँदै आगामी दिनमा पनि राप्ती प्राविधिक शिक्षालयको विकासमा र सरस्वती माविको विकासमा लागिपर्ने बताए ।

राप्ती प्राविधिक शिक्षालयलाई सरस्वस्ती माविमा सार्नका लागि काम सुरु भइसकेको बताउँदै डाँगीले राप्ती प्राविधिक शिक्षाका प्रमुख शालिकराम डाँगीले प्रदेश सरकारले फागुन १२ गतेको बटमलाइन दिएर आफूलाई सजिलो भएको बताए ।

सरस्वस्ती माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विश्वास विश्वकर्माले प्रदेश सरकारले गरेको निर्णयलाई छिट्टै कार्यान्वयमा लैजानका लागि प्रदेश सरकारलाई सहयोग गर्ने बताए । राजधानी निर्माणका लागि संघीय सरकारले पनि १ अर्ब बजेट प्रदान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे