कांग्रेसको निर्वाचनमा ३ हजार १ सय ८१ मत गणना : देउवा अगाडि, अब १४ सय ९८ मत गन्न बाँकी



कांग्रेसको निर्वाचनमा ३ हजार १ सय ८१ मत गणना : देउवा अगाडि, अब १४ सय ९८ मत गन्न बाँकी

काठमाण्डाै २८ मंसिर । कांग्रेसको नयाँ नेतृत्वका लागि भएको चुनावमा सभापतिको मतगणना भइरहेको छ । अहिलेसम्म प्राप्त मतगणनाको परिणाम अनुसार सभापतिमा शेरबहादुर देउवाले अग्रता बनाएका छन् । अहिलेसम्म ३ हजार १ सय ८१ मत गणना भएको छ । अब १४ सय ९८ मत गन्न बाँकी छ ।

सभापतिका उम्मेदवार देउवाले १५०६ मत पाएका छन् । त्यस्तै अर्का उम्मेदवार डा. शेखर कोइरालाले ११ सय ७८ र प्रकाशमान सिंहले २ सय ५४ मत प्राप्त गरेका छन् । त्यस्तै विमलेन्द्र निधिले १ सय ७३ मत प्राप्त गर्दा कल्याण गुरुङले १५ मत मात्र प्राप्त भएको छ ।

कुल ४ हजार ७ सय ४३ मतदातामध्ये ४ हजार ६ सय ७९ मत खसेको छ । नेतृत्वका लागि शेरबहादुर देउवा र शेखर कोइरालाबीच मुख्य प्रतिस्पर्धा छ । अहिलेसम्म गणना भएको मतमा कसैले पनि ५० प्रतिशत कटाउन सकेका छैनन् । कांग्रेसको विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको बहुमत चाहिन्छ । ४ हजार ६७९ मत खसेकोमा विजयी हुन २ हजार ३४० मत चाहिन्छ । कुनै पनि उम्मेदवारले बहुमत नल्याए धेरै मत ल्याउने दुई उम्मेदवारबीच पुनः प्रतिस्पर्धा हुनेछ ।

कांग्रेस निर्वाचन समितिका अनुसार आजै बिहानसम्ममा सभापतिको मतगणना सकिनेछ । राति अबेर मतदान सकेपछि आज बिहानैदेखि मतगणना थालिएको हो । सभापतिको मत गणनापछि दोस्रो चरणमा पदाधिकारीहरुको र तेस्रो चरणमा केन्द्रीय सदस्यहरुको मतगणना पार्टी कार्यालय सानेपामा हुने पार्टीको निर्वाचन समितिले जनाएको छ । मत गणना चाँडै सम्पन्न होस् भनेर विभिन्न समूह बनाएर गणना गरिएको छ ।

सदस्य र पदाधिकारीका लागि मत खसालिएका ८४ वटा ट्याङ्की गएराति नै पार्टी कार्यालय सानेपा लगिएको छ । १४औँ महाधिवेशनबाट सभापतिसहित २ उपसभापति, २ महामन्त्री, ८ सहमहामन्त्रीसहित १३ पदाधिकारी र १ सय २१ सदस्य निर्वाचित हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे