दाङमा जनगणना कार्यालयहरु जिल्लामा स्थानान्तरण गरिदै



दाङमा जनगणना कार्यालयहरु जिल्लामा स्थानान्तरण गरिदै

दाङ १५ मंसिर । दाङमा १२ औँ राष्ट्रिय जनगणना २०७८ कार्य गर्नका लागि पालिकामा स्थापना गरिएका स्थानिय जनगणना कार्यालयहरु जिल्लामा स्थानान्तरण गर्न लागिएको छ ।

जनगणना २०७८ कार्य सकिएपछि चार स्थानमा स्थापना गरिएका स्थानिय जनगणना कार्यालय जिल्लामै स्थानान्तरण गर्ने काम भईरहेको जिल्ला जनगणना कार्यालय दाङका प्रमुख तुलसीराम पोख्रेलले जानकारी दिएका छन् । जिल्लाका दश पालिका संग समन्वय गर्ने गरी जिल्लाका विभिन्न स्थानमा स्थानिय जनगणना कार्यालय स्थापना गरिएको थियो । अहिले जनगणनाको काम सकीएपछि ती कार्यालयहरुलाई जिल्ला जनगणना कार्यालयमा स्थानान्तरण गर्न लागिएको उनले जानकारी दिए ।

उनका अनुसार तुलसीपुर, बबई, लमही र गढवामा स्थापना गरिएका स्थानिय जनगणना कार्यालयका सवै सामग्रीहरु जिल्लामा स्थानान्तरण गर्न लागिएको छ । यसका साथै कर्मचारीहरु पनि जिल्ला तानिएका छन् । गणक तथा सुपरीवेक्षकहरुले सम्वन्धित जनगणना कार्यालयमा तथ्याङक संकलनका फारमहरु बुझाई सकेका छन् । ती फारमहरु जिल्लामा संकलन गरिने र त्यसपछि केन्द्रिय तथ्याङक विभागमा पठाईने उहाले जानकारी दिए ।

एउटा स्थानिय तहमा स्थापना गरिएको जनगणना कार्यालयको व्यवस्थापन तथा समन्वयका लागी गणक र सुपरीवेक्षक बाहेक कम्तिमा चार जना कर्मचारीहरु खटाईएको थियो । तुलसीपुर र दंगीशरणका लागी तुलसीपुर, शान्तिनगर र बबई गाउँपालिकाका लागी बबई ,राजपुर र गढवाका लागि गढवा तथा राप्ती र लमहीका लागी लमहीमा स्थानिय जनगणना कार्यालय स्थापना गरिएको थियो । बंगलाचुली र घोराहीका लागी जिल्ला जनगणना कार्यालय मार्फत काम भएको कार्यालय प्रमुख पोख्रेलले जानकारी दिए ।

जिल्लामा दुई चरणमा जनगणनाको काम भएको थियो । पहिलो चरणको जनगणना गएको असोजमा भएको थियो भने अन्तिम चरणको जनगणना गत कात्तिक २५ गतेदेखी मंसिर ९ गते सम्म भएको थियो । जनगणनाका लागी जिल्लाभर आठ सय चार गणक र एक सय बयासी जना सुपरिवेक्षक परिचालन गरिएको थियो । मेरो गणना, मेरो सहभागिता भन्ने नाराका साथ १२ औँ राष्ट्रिय जनगणना २०७८ सम्पन्न भएको छ । अब प्रारम्भिक विवरण आउन कम्तिमा तिन महिना लाग्ने र विस्तृत विवरण आउन एक वर्ष भन्दा बढि समय लाग्ने कार्यालय प्रमुख पोख्रेलले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे