एमाले अध्यक्षमा ओली विजयी, रावल ठूलो मतान्तरले पराजित



एमाले अध्यक्षमा ओली विजयी, रावल ठूलो मतान्तरले पराजित

काठमाण्डाै १४ मंसिर । नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन् । चितवनको सौराहामा भएको मतगणनाको परिणाम अनुसार अध्यक्षमा ओलीले एक हजार आठ सय ४० मत प्राप्त गरेका छन् । भने रावलले दुई सय २३ मत ल्याएका हुन् ।

अध्यक्षमा ओलीलाई सर्वसम्मत गराउने निकै प्रयास भए पनि भीम रावलले उम्मेदवारी फिर्ता नलिएपछि चुनाव भएको थियो । चुनावमा ओलीले रावललाई ठूलो मतान्तरले हराएका हुन् ।

यही मङ्सिर १० गतेदेखि चितवनकाे साैराहामा सुरु महाधिवेशनमा दुई हजार एक सय ५३ प्रतिनिधि रहेकामा दुई हजार ९६ मत खसेकाे थियाे ।

ओली दोस्रो पटक  एमाले अध्यक्षमा निर्वाचित भएका हुन् । यसअघि नवौँ महाधिवेशनमा पनि ओलीले माधवकुमार नेपाललाई हराएर अध्यक्ष जितेका थिए ।

वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा शङ्कर पोखरेललगायत पदाधिकारी भने निर्विरोध निर्वाचित भएका छन् । तीन उपमहासचिवमा प्रदीपकुमार ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाल पनि निर्विरोध निर्वाचित भएका छन्।

महाधिवेशनको बन्द सत्रको पहिलो दिन यही मङ्सिर ११ गते अध्यक्ष मण्डलका अध्यक्ष ओलीलाई तीन सय एक सदस्यीय केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यका उम्मेदवारको नामावली प्रस्तुत गर्न अधिकार दिएको थियो । अध्यक्ष ओलीले विभिन्न नेतासँगको परामर्शमा १२ गतेको बन्द सत्रमा नामावली प्रस्तुत गर्दा धेरैले सहमति जनाएकामा रावल, भुसाललगायतका नेताले अस्वीकार गरेपछि निर्वाचन भएको हो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे