लुम्बिनी प्रदेशकाे स्थायी राजधानी देउखुरीमा ग्रामीण तथा शहरी विकास मन्त्रालयद्धारा काम सुरु



लुम्बिनी प्रदेशकाे स्थायी राजधानी देउखुरीमा ग्रामीण तथा शहरी विकास मन्त्रालयद्धारा काम सुरु

भालुवाङ २३ असार । लुम्बिनी प्रदेश सरकार अन्तरगत ग्रामिण तथा शहरी विकास मन्त्रालयले स्थायी राजधानी देउखुरी उपत्यकाबाट  औपचारिक रुपमा कामकाज सुरु गरेकाे छ । दाङ देउखुरीको राप्ती गाउँपालिका ३ स्थित राप्ती प्राविधिक शिक्षालय भित्र रहेकाे मन्त्रालयले बुधवारबाट कामकाज सुरु गरेकाे हाे ।

गत असोज २० गते प्रदेश सभाबाट स्थायी राजधानी राप्ती उपत्यका देउखुरी र नाम लुम्बिनी राख्ने निर्णय गरेको थियो । बुधवार राजधानी क्षेत्र राप्ती उपत्यका देउखुरीबाट ग्रामिण तथा शहरी विकास मन्त्रालयले औपचारीक रुपमा कामकाज सुरु गरेको हो ।

प्रदेश राजधानी क्षेत्रमा स्थापना हुने यो पहिलो मन्त्रालय हो । मुख्यमन्त्री शंकर पोख्रेलले राजधानी कार्यान्वयनको लागी मन्त्रालय स्थापना गरेर काम सुरु हुनु आफैमा ऐतिहासीक कार्य भएको बताए । मन्त्रालयको मुख्य मन्त्री शंकर पोख्रेलले भौतिक रुपमा उपस्थित भएर कार्य सुभारम्भ गर्ने भनिएता पनि मौसम खराबीका कारण काठमाण्डौबाट आउन नसकेपछि टेलिफोन मार्फत मन्त्रालयको कार्य शुभारम्भ गरेका छन् ।

टेलिफोन मार्फत कार्यक्रमलाई सम्वोधन गर्दै मुख्यमन्त्री पोख्रेलले राजधानी कार्यान्वयन र व्यवस्थीत बनाउन मन्त्रालयले नेतृत्वदायी भूमिका निर्वाह गर्ने बताए।प्रदेश सभाको बैठकबाट राजधानी र नाम टुंगो लागेको नौं महिना पछी स्थायी राजधानीमा मन्त्रालय स्थापना गरेर कामकाज सुरु गरिनु ऐँतिहासीक भएको ग्रामिण तथा शहरी विकास मन्त्री हरिप्रसाद रिजालले बताए । आन्तरिक मामिला तथा कानुन मन्त्रालय र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय पनि राजधानीमा स्थापना गरेर कामकाज थालनीको योजना बनेको मन्त्री रिजालले बताए ।

ग्रामिण तथा शहरी विकास मन्त्रालयले राजधानी कार्यान्वयन र व्यवस्थापनको लागी नेतृत्वदायी भूमिका निर्वाह गर्ने आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले बताए । ग्रामिण तथा शहरी विकास मन्त्रालयको खानेपानी तथा सरसफाई स्वच्छता, भवन आवास तथा शहरीकरण, र पर्यटन प्रर्वद्धन तथा विकास गरी तीन क्षेत्र प्रमुख जिम्मेवारी क्षेत्र रहेको मन्त्रालयका सचिव महेशचन्द्र न्यौपानेले जानकारी दिए ।

राप्ती गाउँपालिकका अध्यक्ष नुमानन्द सुवेदीले राजधानी कार्यान्वयनको लागी प्रदेश सरकारले चालेका कदमहरु महत्वपूर्ण रहेको बताए । मन्त्रालयका सचिव महेशचन्द्र न्यौपानको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चलन उपसचिव हरिप्रसाद गैरेले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे