स्वास्थ्यकर्मीको सुरक्षासम्बन्धी अध्यादेश जारी, आक्रमण गर्नेलाई कडा कारबाही हुने



स्वास्थ्यकर्मीको सुरक्षासम्बन्धी अध्यादेश जारी, आक्रमण गर्नेलाई कडा कारबाही हुने

काठमाण्डाै २३ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०७८ जारी गरेकी छिन् ।  राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा (१) अनुसार नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा आइतवार (आज) त्याे अध्यादेश जारी गरेकाे राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले निकाल्नुभएकाे प्रेस विज्ञप्तिमा जनाइएको छ ।

कोरोना सङ्क्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीमाथि आक्रमण भएका घटना सार्वजनिक भएपछि कारबाहीका लागि सरकारले कानुन बनाएको हो । अध्यादेशमा स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा हातपात गरेमा या आघात पुर्‍याएमा दुई लाख रुपैयाँसम्म जरिबाना वा चार वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने उल्लेख छ ।

यस्तै स्वास्थ्यकर्मीलाई धम्की दिएमा वा मानसिक तनाव र अपमानजनक व्यवहार गरेमा ५० हजार रुपैयाँ जरिबाना र एक वर्ष कैदको व्यवस्था छ ।  यस्तै स्वास्थ्य संस्थामा तालाबन्दी, तोडफोड र घेराउ गरेमा दुई लाख रुपैयाँ जरिबाना र चार वर्ष कैद सजाय र बिरामीको उपचार गर्ने कार्यमा अवरोध गरेमा २० हजार रुपैयाँ जरिबाना र तीन महिनासम्म कैद वा दुवै सजाय दिइने अध्यादेशमा उल्लेख छ ।

कोरोना महामारीको समयमा स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीमाथि आक्रमण र धम्कीका घटना बढेपछि सरकारले पीडकलाई कडा कारबाहीका प्रावधान समेटेर राष्ट्रपति भण्डारीसमक्ष अध्यादेश पेस गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे