राप्ती गाउँपालिकामा ५ करोड बढीको लागतमा प्रदेशसभा हल निर्माण कार्य सुरु



राप्ती गाउँपालिकामा ५ करोड बढीको लागतमा प्रदेशसभा हल निर्माण कार्य सुरु

दाङ १३ जेठ । लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यकामा प्रदेशसभा बैठकका लागि प्रदेश सभाहल निर्माणको काम सुरु भएको छ । ५ करोड २१ लाखको लागतमा सुविधा सम्पन्न प्रदेशसभाहल निर्माणको काम सुरु भएको लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ध्रुव मजगैयाँले जानकारी दिए ।

कोरोना भाइरस संक्रमण फैलन नदिन गरिएको लकडाउनमा समेत सावधानी अपनाएर प्रदेशसभा हल निर्माणको काम चलिरहेको हो । राजधानीको निर्णय टुंगिएपछि स्थायी राजधानी तोकिएको क्षेत्रमा राजधानीसँग जोडिएको गुरुयोजना निर्माणसँगै पूर्वाधार निर्माण कार्य सुरु भएको हो ।

‘कोभिड–१९ को संक्रमण फैलन नदिन गरिएको लकडाउनमा पनि प्रदेशसभा हल निर्माणको काम रोकिएको छैन’ उनले भने, ‘एक सय जना मानिस सजिलै अटाउन सक्ने सभाहल, सभामुखको लवी, स्टेज सबै यसैभित्र निर्माण हुने छ ।’ नेपाल सरकारले लुम्बिनी प्रदेश सरकार मातहतमा राप्ती प्राविधिक शिक्षालय रहने निर्णय गरेपछि सभाहल निर्माणको काम सुरु भएको छ । राप्ती प्राविधिक शिक्षालय भित्र रहेको सभाहल सानो भएपछि नयाँ सभाहल आवश्यक परेको हो ।

चालु आर्थिक वर्ष भित्र प्रदेशसभा हल निर्माणको काम सक्ने लक्ष छ । तर, लकडाउनका कारण निर्धारित समयमा सभाहल निर्माणको काम सम्पन्न गर्न कठिनाई हुने भएको छ । ‘असार सम्म सक्ने योजना हो । समय परिस्थिति अनुसार भनेकै समयमा काम सुरु गर्न सकिएन’ मजगैयाँले भने, ‘अशोजसम्ममा सबै काम सकिन्छ कि भन्ने लागेको छ ।’ सभाहल निर्माणको काम ड्राइगन बस्नेत जेभी निर्माण कम्पनीले गरिरहेको हो ।

लुम्बिनी प्रदेश स्थायी राजधानीको गुरुयोजना निर्माणको काम सुरु भएको छ । तीन ओटा कन्सल्टेन्सी गुरुयोजना निर्माणको लागी छानिएको प्रदेश पूर्वाधार विकास प्राधिकरणले जनाएको छ ।‘नमुना राजधानी निर्माणको गुरुयोजना एउटा आधार हुने छ’मजगैयाँले भने–‘देशकै नमुना शहर बनाउने संकल्प छ ।’

राजधानीको गुरुयोजनाले राप्ती गाउँपालिका, गढवा गाउँपालिका वडा नम्बर १, २ र ३, शितगंगा नगरपालिका अर्घाखाँचीको वडा नम्बर ८ र ९ लाई समेटने छ । प्रशासनिकय केन्द्र, शहर, कृषि क्षेत्र, शिक्षा, स्वास्थ्य, खेलकुद लगायत सबै प्रकारको क्षेत्र तोक्ने र सोही अनुसार डिजाइन बनाइने छ ।

कानून मन्त्रालय पनि ल्याइने

लुम्बिनी प्रदेश सरकारले स्थायी राजधानीमा मन्त्रालय स्थानान्तरण सुरु गरेको छ । ग्रामीण तथा शहरी विकास मन्त्रालयको कार्यालय स्थापना भैसकेको छ । बाँकी आन्तरिक मामिला तथा कानून मन्त्रालयको लागि राप्ती प्राविधिक शिक्षालय भित्र रहेको भवन खोज्न थालिएको लुम्बिनी प्रदेशसभा सदस्य रेवतीरमण शर्माले जानकारी दिए ।

चालु आर्थिक वर्ष सकिएलगत्तै देउखुरीमा आन्तरिक मामिला तथा कानुन मन्त्रालय स्थापना गर्ने योजना रहेको छ । अहिले अस्थायी राजधानी बुटवल मुकामको रुपमा रहेका मन्त्रालय, निर्देशनालय तथा अन्य कार्यालयहरु स्थायी राजधानीमा स्थानान्तरणको योजना छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे