LISTEN LIVE RADIO

करोडौं ठगी गरेको आरोपमा कांग्रेस नेता कृष्णमुरारी गुरुङ पक्राउ



काठमाडौँ ५ जेठ । करोडौं ठगी गरेको आरोपमा कांग्रेस नेता पक्राउ परेका छन् । विभिन्न व्यक्तिलाई प्रलोभन देखाई ८ करोड २५ लाख ठगेको आरोपमा कांग्रेस महासमिति सदस्य कृष्णमुरारी गुरुङ पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंले केही दिनअघि गुरुङलाई ठगी मुद्दामा पक्राउ गरे पनि शुक्रबार मात्र घटना सार्वजनिक गरेको हो । पक्राउ गरेर जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको परीसरका प्रवक्ता एसपी सिताराम रिजालले जानकारी दिए । सिन्धुलीको गोलन्जर गाउँपालिका वडा नम्बर ४ स्थायी घर भएका गुरुङले आफ्नो व्यवहार एवं व्यापार मिलाउन भन्दै विभिन्न व्यक्तिलाई ठगी गरेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको हो ।

मुद्दा परेकाले आफ्नो सम्पूर्ण सम्पत्ति रोक्का भएको भन्दै उनले पटक-पटक गरी सुरेश केसीसँग नगद ७ करोड ७५ लाख रुपैयाँ र २० तोला सुन लिएको प्रहरीको भनाइ छ । त्यस्तै २०७४ सालको असोज महिनामा देउबहादुर गुरुङसँग ३० लाख रुपैयाँ लिएको पनि प्रहरीले जनाएको छ । त्यस्तै गाडी बिक्री गर्न २० लाख चाहिने भन्दै सरिता गुरुङसँग २० लाख रुपैयाँ लिएको पनि पीडितले उजुरीमा उल्लेख गरिएको प्रहरीद्ये जनाएको छ । प्रहरीले उनलाई ठगी, आपराधिक लाभ तथा आपराधिक विश्वासघातसम्बन्धी कसुरमा अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।

गुरुङ गत प्रतिनिधिसभा निर्वाचनमा सिन्धुली-१ बाट उम्मेदवारको दाबेदार भए पनि कांग्रेसले श्यामकुमार घिमिरेलाई टिकट दिएको थियो । त्यस्तै गुरुङले अखिल नेपाल फुटबल संघ(एन्फा) को गत असारमा भएको निर्वाचनमा सदस्य पदका लागि उम्मेदवारी दिएका थिए । तर पछि उनले उम्मेदवारी फिर्ता लिए । उनले ‘हाम्रो नेपाल’ नामक फुटबल समर्थक संस्था पनि चलाउँछन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे