LISTEN LIVE RADIO

राप्ती गाउँपालिकाद्वारा पशु विकास शाखा प्रमुख पाैडेल र लेखा अधिकृत शर्माको बिदाई



राप्ती गाउँपालिकाद्वारा पशु विकास शाखा प्रमुख पाैडेल र लेखा अधिकृत शर्माको बिदाई

भालुवाङ १३ वैशाख । दाङ – देउखुरीकाे राप्ती गाउँपालिकाले वरिष्ठ पशु विकास अधिकृतकाे रुपमा बढुवा भई कृषि तथा पशुपंछी विकास मन्त्रालय सिंहदरबार काठमाडौंमा जान लाग्नु भएका पशु विकास शाखा प्रमुख जिवराज पाैडेल र अनिवार्य अवकाश प्राप्त गर्नु भएका लेखा अधिकृत धनप्रसाद शर्मालाई बिहिवार एक कार्यक्रमकाे आयोजना गरि बिदाई गरेको छ।पालिकाका अध्यक्ष प्रकाश विष्ट, उपाध्यक्ष कमलापती चाैधरी र प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर वलीले पाैडेल र शर्मालाई टीका, फूलमाला तथा सम्मानपत्र प्रदान गरि बिदाई गरेका हुन् । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेबबहादुर वलीको अध्यक्षता तथा पालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यता एवम् उपाध्यक्ष कमलापती चाैधरीकाे विशिष्ट आतिथ्यतामा भएको उक्त बिदाई कार्यक्रममा बाेल्दै अध्यक्ष विष्टले स्थानीय तहमा काम गर्दा विभिन्न चुनाैतीहरु आउने चर्चा गर्दै त्यसलाई सफलतापूवर्क पार गरि पाैडेल र शर्माले इमान्दार कर्मचारीका रुपमा आफूहरुलाई प्रमाणित गरेको बताए ।

त्यस्तै अध्यक्ष विष्टले हरेक कार्यालयमा उहाँहरु जस्तो कर्तव्यबोध, ईमान्दार र लगनशील कर्मचारीकाे आवश्कता रहेकाे कुरा समेत औल्याए । गाउँपालिकाकी उपाध्यक्ष कमलापति चाैधरीले पालिकामा सेवा अवधिभर दुबै जनाले निकै उत्कृष्ट कार्य गरेको बताउदै आगामी दिनमा समेत पालिकाकाे विकास र समृद्धिकाे लागि सहयोग अपेक्षा गरिन्। सेवा अवधिभर जनताकाे कामलाई सधै प्राथमिकतामा राखेर कहिलै कसैको गुनासो नआउने गरि उत्कृष्ट कार्य सम्पादन गरेको बताउँदै प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओलीले उहाँहरुबाट पालिकाले धेरै कुराहरू अनुसरण गर्नुपर्ने बताए । त्यस्तै बढुवा भई जान लाग्नुभएका पशु विकास शाखा प्रमुख जिवराज पाैडेल र अनिवार्य अवकाश प्राप्त गर्नु भएका लेखा अधिकृत धनप्रसाद शर्माले सेवा अवधिभर आफूहरु सदैब जनता र राष्ट्र प्रति कर्तव्यनिष्ठ, इमानदार, लगनशील र निष्पक्ष भएर सेवा प्रवाहमा प्रयत्नशील रहेको बताए ।

वि.सं. २०६७ साल देखि नेपाल सरकारको निजामती सेवामा प्रवेश गरेका  पाैडेल करिब २ वर्ष देखि राप्ती गाउँपालिकाकाे पशु विकास शाखा प्रमुखको रुपमा कार्यरत थिए भने वि.सं. २०४५ साल देखि नेपाल सरकारको निजामती सेवामा प्रवेश गरेका शर्मा करिब ५ वर्ष देखि राप्ती गाउँपालिकाकाे लेखा अधिकृतको रुपमा कार्यरत थिए। गाउँपालिकाका प्रशासन शाखा प्रमुख विकास ज्ञवालीले सहजीकरण गरेकाे उक्त बिदाई कार्यक्रममा गाउँपालिकाका विभिन्न वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य तथा कर्मचारीहरुकाे सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे