LISTEN LIVE RADIO

नक्कली शरणार्थी प्रकरण : थप २ जना काठमाण्डाैबाट पक्राउ



नक्कली शरणार्थी प्रकरण : थप २ जना काठमाण्डाैबाट पक्राउ

काठमाण्डाै २६ वैशाख । प्रहरीले नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने लोभ देखाएर ठगी गरेको आरोप लागेकामध्ये थप दुई जना लाई काठमाण्डाैबाट पक्राउ गरेको छ ।

काठमाण्डाैकाे टोखा बस्ने रामशरण केसी र मोरङ घर भएका गोविन्द चौधरीलाई आज मङ्गलवार पक्राउ गरिएको काठमाण्डाै उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी प्रवक्ता, प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए । उनका अनुसार उनीहरू यस घटनामा बिचौलिएका रूपमा काम गरेको पाइएपछि पक्राउ गरिएको हो । उनीहरूलाई बानेश्वर क्षेत्रबाट पक्राउ गरिएको बताइएको छ ।

यसअघि पक्राउ परेकामा तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित बहालवाला सचिव (तत्कालीन गृह सचिव) टेकनारायण पाण्डे, सन्दीप रायमाझी, केशव दुलाल, सानु भण्डारी टङ्क गुरुङ, सन्देश शर्मा पोखरेल र सागर थुलुङ छन् ।

पक्राउ पुर्जी जारी भएका नेकपा एमालेका सचिव एवम् पूर्वमन्त्री टोपबहादुर रायमाझी अहिले सम्पर्कमा नभएकाले खोजी भइरहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसरले पक्राउ परेकाहरूविरुद्ध सङ्गठित अपराधमा अनुसन्धान गरिरहेको छ । यसको अनुसन्धानका लागि प्रहरीले ६० दिन समय पाउँछ । यस घटनामा अहिलेसम्म एक सय छ जनाले २० वटा जाहेरी दिएका छन् । उनीहरूले कुल २३ करोड २५ लाख रुपैयाँ ठगी भएको भनी जाहेरी दिएका छन् ।

पक्राउ परेका दुवै जनालाई आजै थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाण्डाैमा पठाइएकाे पनि रेग्मीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे